पक्राउ पर्नुअघि रवि लामिछानेको आक्रोश : सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो !

पक्राउ पर्नुअघि रवि लामिछानेको आक्रोश : सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएर पार्टी केन्द्रीय कार्यालय घण्टीघरमा प्रहरी पुगिसकेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले ‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो’ भन्दै आक्रोश पोखेका छन् ।

सामाजिक सञ्जाल फेसबूकमा लेख्दै सभापति लामिछानेले कानूनलाई पूरै सघाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले फेसबूकमा लेखेका छन्, ‘तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहिँ हतकडी ? तपाईं बिचौलियाको सेवा गरेबापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपिदिनुपर्ने ? तपाईं प्रमाणित भ्रष्टाचारीबाट करोडौंको जग्गा खुल्लमखुल्ला लिने, मैले ठगीको आरोप खेपिदिनुपर्ने ।’

राज्यका भएभरको शक्ति लगाएर अनुसन्धान गर्दा पनि केही नभेटेको तर एउटा नेताको राजनीति जोगाउन र दुईतिहाइको सरकार जोगाइदिन आफू बली चढ्नुपर्ने भन्दै प्रश्न गरेका छन् ।

उनले अगाडि लेखेका छन्, ‘तिमी र तिम्रा नेता मिलेर सहकारीबाट ८७ अर्ब अपचलन गर्ने, मैले सहकारी ठग भइदिनुपर्ने ? यति गरेपछि भाटभटेनीको इस्यु मोड्न पनि पाइयो । प्रमाण छ भन्ने युवा नेतालाई पनि भागेर हिँड्नुपरेन । तर म कहिले भागेर हिँडिनँ र हिँड्दिनँ पनि । ओलीजी, भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्याए, तिनै भ्रष्टाचारी जोगाउन तपाईंले त्यहीँ अफर रातारात बिचौलियालाई साक्षी राखेर लिनुभो । वाचा स्वरूप तपाईंले मेरो बलि चढाउने सम्झौता त्यसै रात गर्नुभएको थियो । यो मलाई राम्रोसँग थाहा छ । तपाईंको मन्त्रिमण्डल त्यसको साक्षात प्रमाण हो । तपाईंहरूका दलका नेता/कार्यकर्ता प्रमाणित सहकारी ठग हुन् । कोही जेलमा छन्, कोही फरार छन् । तपाईंहरू तिनलाई जोगाउन लागिपर्नुभएको छ । अब तपाईंहरूबाट पीडितले न्याय पाउँदैनन् । त्यसैले अब सहकारी पीडितको आवाजको नेतृत्व हामी गर्छौं ।’

नयाँ पुस्तालाई एकएक गर्दै सक्काउँदै जाने कुनियत चाँडै रसातलमा पुर्‍याएको देशले चाँडै देख्ने उनले टिप्पणी गरे । उनले लेखेका छन्, ‘नयाँ पुस्तालाई एकएक गर्दै सक्काउँदै जाने तिमीहरूको कुनियतले तिमीहरूलाई चाँडै रसातलमा पुर्‍याएको यो देशले चाँडै देख्नेछ । शुरूवात तिमीहरूले गर्‍यौं, अन्त्य हामी गर्नेछौं, नेपाली जनताले गर्नेछन्, छिट्टै गर्नेछन् । अहिलेलाई सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो । तर मलाई न्यायालयप्रति आशा र न्यायप्रेमी जनताप्रति भरोसा छ । प्रिय रास्वपा परिवारका साथीहरू, शिर ठाडो राख्नुहोला । तपाईंको सभापतिले कसैलाई ठगेको छैन ।’