रविको थुनछेक बहस : बेन्चको सुनुवाइपछि तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउने आदेश दिइने

रविको थुनछेक बहस : बेन्चको सुनुवाइपछि तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउने आदेश दिइने


काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा निलम्बित सांसद रबि लामिछानेसहित चार जनालाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।

सहकारी ठगीमा प्रकरणमा मुद्दा दायर भएका रवि लामिछाने, छविलाल जोशी, लिला पछाई र रामबहादुर खनाललाई अदालत उपस्थित गराएको हो ।

लामिछानेविरुद्ध मुद्दा दायर भएसँगै आजदेखि थुनछेक बहस हुने भएको छ । थुनछेक बहसका लागि हिजो अदालतमा लगिए पनि पालो नआएका कारण उनको बयान हुन सकेको थिएन।

सोमबार मुद्दा गोला प्रथामा गएपछि न्यायाधीशको बेन्च तय भएकाे थियाे । कास्की अदालतको बेन्चले सुनुवाइ सकिएपछि रवि लगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउने भन्नेबारे आदेश दिनेछ ।

 छविलाल जोशीको मात्रै बयान भइरहेको छ । छविको बयान सकिएपछि मात्रै अरूको सुरु हुनेछ । सरकारी वकिलको कार्यालय, कास्कीले लामिछाने, छविलाल जोशीसहित ४४ जनालाई आइतबार सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो ।

पाँच जनालाई बिगो अनुसारको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको छ ।

पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेको दिनदेखि ९२औँ दिनमा सरकारले आइतबार अभियोगपत्र दर्ता गरेको हो ।

लामिछानेविरुद्ध भने तीन वटा कसुरमा मुद्दा दर्ता भएको छ । लामिछानेविरुद्ध सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अभियोग पत्र दर्ता गरिएको छ ।

गत शुक्रबार मात्रै यही घटनामा गोर्खा मिडियाका अध्यक्ष जीबी राई सहित १९ जनाविरुद्ध पूरक अभियोग पत्र दर्ता भएको थियो। १८ असोज, २०८० मा राई लगायतको समूहविरुद्ध मुद्दा दायर भएको थियो ।