पोखराबाट थुनछेक आदेश नआउँदै रवि लामिछानेविरुद्ध काठमाण्डुमा अर्काे मुद्दा दायर

पोखराबाट थुनछेक आदेश नआउँदै रवि लामिछानेविरुद्ध काठमाण्डुमा अर्काे मुद्दा दायर


काठमाण्डु – सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतबाट थुनछेक आदेश नआउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध काठमाण्डु जिल्ला अदालतमा अर्काे मुद्दा दायर भएको छ ।

कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम ठगी गरेको आरोपमा पूर्वगृहमन्त्री समेत रहेका लामिछानेसहित ३९ जनाविरुद्ध काठमाण्डु जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले रविसहित ३९ प्रतिवादीबाट २ अर्ब ४१ करोड ३४ लाख रुपैयाँभन्दा बढी बिगो मागदाबीसहित मुद्दा दर्ता गरिएको जानकारी दिए ।

जिल्ला प्रहरी परिसर काठमाण्डुले सहकारी ठगीमा अनुसन्धान सकेर पुस १८ गते अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।

सभापति रवि पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कात्तिक ३ गतेदेखि हिरासतमा छन् । कास्की जिल्ला अदालतमा मुद्दा दायर भएपछि बयान सकिएर थुनछेक बहस भइरहेको छ ।