रवि लामिछानेविरुद्ध सूर्यदर्शन सहकारी ठगी प्रकरणको थुनछेक आदेश शुक्रबारसम्म आउने

रवि लामिछानेविरुद्ध सूर्यदर्शन सहकारी ठगी प्रकरणको थुनछेक आदेश शुक्रबारसम्म आउने


काठमाण्डु – पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने सहितले सूर्यदर्शन सहकारीमा गरेको ठगी प्रकरणको थुनछेक आदेश शुक्रबारसम्म आउने भएको छ ।

कास्की जिल्ला अदालत स्रोतले सकभर बिहीबार साँझ नभए शुक्रबार थुनछेक आदेश हुने जानकारी दियो ।

लामिछाने सहितका प्रतिवादीतर्फको बहस न्यायाधीश नीतिज राईको इजलाशमा अन्तिम चरणमा पुगेको छ । बिहीबारका लागि जवाफी बहस गर्ने तालिका छ । जवाफी बहस छिट्टै सकिए भोलि बिहीबार साँझ र नभए शुक्रबार थुनछेक आदेश आउने सरकारी वकिल कार्यालय कास्कीकी प्रमुख सहन्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिइन् ।

काफ्लेले बिहीबार भोलि फस्र्ट आवरमा जवाफी बहस सकिए भोलि साँझसम्म र नसकिए पर्सि थुनछेक आदेश आउने जानकारी दिइन् ।

मंगलबार तत्कालीन गोरखा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक एवं रास्वपा सभापति लामिछाने पक्षका कानून व्यवसायीले बहस सकेपछि बुधबार रामबहादुर खनाल, कृष्ण गुरुङ, मीना गुरुङ र आरती गुरुङका कानून व्यवसायीले बहस गरेका छन् । अहिले जाहेरवालाका तर्फबाट बहस भइरहेको छ ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीले रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय रुपैयाँ ९४ पैसा बिगो माग दाबीसहित जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।

लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा २७ करोड ८९ लाख बिगो माग दाबी रिटमा गरिएको छ । लामिछानेविरुद्ध सहकारी ठगी मुद्दामा ३ करोड ३७ लाखको बिगो माग दाबी गरिएको छ ।

थुनछेकमा अदालतले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा रिहा गर्नेमध्ये एक आदेश गर्नेछ ।