काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने सहकारी ठगीमा पुर्पक्षका लागि थुनामा रहेका बेला उनीविरुद्ध अर्काे सहकारी ठगीको मुद्दा लाग्ने भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्जस्थित सानो पाइला सहकारी ठगीमा अनुसन्धान सकेर मुद्दा दर्ताका लागि सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ ।
पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार लामिछाने र प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसहित ३० व्यक्ति र ११ वटा संस्थालाई प्रतिवादी बनाउन राय दिएको छ । मुद्दामा ४१ प्रतिवादीबाट २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ रुपैयाँ २९ पैसा बिगो दाबी गरिएको छ । आरोपीविरुद्ध सहकारी ठगी र संगठित अपराधमा अभियोग लगाउन प्रहरीको राय छ ।
प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले अदालतमा अभियोग दायर गर्ने जनाइएको छ । पर्साका सहायक जिल्ला न्यायाधीशवक्ता अनन्तराज न्यौपानेले केही दिन अध्ययन गरेर अभियोग तयार गर्ने जानकारी दिए ।
सहकारी ठगी मुद्दामै लामिछाने र अर्का आरोपी छविलाल जोशी रुपन्देही कारागारमा छन् । जिल्ला अदालतबाट धरौटीमा रिहा भए पनि बुटवलको सुप्रिम सहकारी ठगीको अभियोगमा उच्च अदालतले जिल्लाको आदेश बदर गर्दै थुनामा पठाउन आदेश दिएको थियो ।
प्रतिक्रिया