म्याद थप्न जिल्ला अदालत कास्की पुर्‍याइयो रवि र छविलाई

म्याद थप्न जिल्ला अदालत कास्की पुर्‍याइयो रवि र छविलाई


पोखरा – जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडिआईजीपी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा पुर्‍याइएको छ ।

पोखरामा रहेको सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका लामिछाने र जोशीलाई ढिला गर्दा प्रदर्शन र भिडले असहज हुने भएले कार्यालय खुलेसँगै प्रहरीले अदालतमा उपस्थित गराएको हो ।

लामिछानेलाई दोस्रो पटक म्याद थपका लागि अदालत उपस्थित गराइएको हो । उनलाई गत शुक्रबार काठमाडौंबाट पक्राउ गरि त्यसैरात पोखरा ल्याइएको थियो । लामिछानेलाई पहिलो पटक आइतबार अदालतमा उपस्थित गराएर पक्राउ परेकै दिनदेखि लागु हुने गरी अनुसन्धानका लागि ६ दिनको म्याद प्रहरीले लिएको थियो ।

पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको अभियोगमा लामिछानेलाई सहकारी ठगी तथा संगठित अपराधको मुद्दा लगाइएको छ ।

गत असोज ६ गते नै पक्राउ परेर पोखरा ल्याइएका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डिआइजी छविलाल जोशीलाई पनि आजै अदालतमा म्याद थपका लागि उपस्थित गराइएको हो ।