रविलाई कास्की अदालतमा पुर्‍याइयो, पक्षमा ७ अधिवक्ताले बहस गर्ने

रविलाई कास्की अदालतमा पुर्‍याइयो, पक्षमा ७ अधिवक्ताले बहस गर्ने


पोखरा – सहकारी ठगी मुद्दामा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत, कास्कीमा पुर्‍याइएको छ । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि लामिछानेलाई अदालतमा उपस्थित गराइएको हो ।

शुक्रबार काठमाडौंस्थित रास्वपा पार्टी कार्यालयबाट पक्राउ परेका लामिछानेलाई त्यसैदिन राति नै पोखरा ल्याइएको थियो । लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी शनिबार बिहान ३ बजेतिर जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको थियो ।

शनिबार सार्वजनिक बिदा भएकाले आज लामिछानेलाई अदालतमा उपस्थित गराइएको हो । अदालत बाहिर लामिछानेका समर्थक र सहकारी पीडितले आ–आफ्नो पक्षमा नाराबाजी गरिरहेका छन् । लामिछाने समर्थकले सहिद चोक र सहकारी पीडित पक्षधरले राष्ट्र बैंक चोकले प्रदर्शन गर्ने तयारी गरेका थिए । अहिले त्यहाँ स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

रवि समर्थकले निषेधाज्ञा तोडेर प्रदर्शन गरेपछि केहीबेर प्रहरीसँग धकेलाधकेलको स्थितिसमेत बनेको थियो ।

रविको पक्षमा अदालतमा वरिष्ठ अधिवक्ताद्वय सुशील पन्त र नारायण घिमिरेसहित सात जना कानुन व्यवसायीहरुले बहस गर्दैछन् । अधिवक्ताहरु यज्ञमणि न्यौपाने, हेमराज पोखरेल उपाध्याय, अधिवक्ता कमल पोखरेल, डा. नारायणदत्त कँडेल र लेखनाथ सापकोटाले रविको पक्षमा बहस गर्न लागेका हुन् ।