मैले सदनबाटै जवाफ दिन चाहिरहेको छु तर पाइरहेको छैन : गृहमन्त्री लामिछाने

मैले सदनबाटै जवाफ दिन चाहिरहेको छु तर पाइरहेको छैन : गृहमन्त्री लामिछाने


काठमाण्डु – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूले सहकारी प्रकरण लगायत विषयमा संसद्बाटै जवाफ दिन चाहिरहेको भए पनि जवाफ दिन नपाएको बताएका छन् ।

आज मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सहकारी लगायतका विषयमा सदनमा जवाफ दिने अवसर पाउनुपर्ने बताए ।

प्राकृतिक प्रकोप आगलागी, हावाहुरी लगायत विषयमा पनि आफूले सदनमा जवाफ दिनुपर्नेमा प्रतिपक्षी नेपाली कांग्रेसका कारण रोकिएको उनले गुनासो गरे ।

उनले भने, ‘गृह मन्त्रालयको काम कारबाही, विपद् व्यवस्थापनको तयारी, भूकम्प पीडितको पुनर्वास लगायतका विषयमा समेत मैले जवाफ दिन चाहिरहेको छु तर पाइरहेको छैन ।’

लोकतन्त्रमा प्रतिपक्षीलाई लागेका कुरा सदनमा उठाउन पाउनुपर्नेमा आफूले सम्मान गर्ने उनले बताए । कसैले जाहेरी दिँदैमा सदनमा सबै विषयमा छानबिन गर्न संसदीय समितिको आवश्यक नरहेको उनले बताए ।

गृहमन्त्री लामिछानेलाई सहकारी ठगी प्रकरणमा जोड्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राजीनामा माग्दै आएको छ ।