औषधिजन्य गाँजा खुला गर्ने गरी १ महिनाभित्र नियमावली बन्छ : गृहमन्त्री लामिछाने

औषधिजन्य गाँजा खुला गर्ने गरी १ महिनाभित्र नियमावली बन्छ : गृहमन्त्री लामिछाने


काठमाण्डु – उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने औषधिजन्य गाँजा खुला गर्ने गरी सरकारले १ महिनाभित्र नियमावली बनाउने बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बजेटमा उल्लेख भएको ‘गाँजा व्यावसायिक उत्पादन गर्ने’ विषयमा भएको छलफलमा बोल्दै उनले गाँजा खेती र औषधिजन्य उपयोगका विषयमा अध्ययन अनुसन्धानका लागि सरकारले १ महिनाभित्र नियमावली बनाउने बताए ।

गृह मन्त्रालयमा गाँजा खेती अध्ययन गर्न बनेको समितिले १ महिनाभित्रै प्रतिवेदन दिने उनले बताए । गृहमन्त्री लामिछानेले गाँजा खेती वैधानिक बनाउने विषयमा द्विविधा राख्नु नपर्ने बताए ।

नियमावली बनाउने विषयमा पर्याप्त रूपमा छलफल भइसकेकाले तत्काल नियमावली आउने उनले जानकारी गराए । उनले गाँजा खेतीबारे अध्ययनका विषयमा पदभार ग्रहण गरेदेखि नै चासो दिएर काम गरिरहेको स्मरण गरे । उनले गाँजा खेतीका लागि कानून बनाउने नेतृत्व गृह मन्त्रालयले नै गर्ने बताए ।

लागूऔषध नियन्त्रण ऐन २०३३ को दफा (४) १ मा नेपाल राज्यको पश्चिमी पहाडी भेगमा प्राकृतिक रूपमा आफैं उम्रने जंगली गाँजाको बोटबाट तोकिएको समयसम्मका लागि चरेश उत्पादन गर्न र खरिद बिक्री गर्न सरकारले नियमन बनाई व्यवस्था गर्नसक्ने र सो अनुसार अनुमतिपत्र प्राप्त गरी काम गर्दा अपराध गरेको नमानिने उल्लेख रहेको उनले बताए ।

विश्वका धेरै देशले अध्ययन गरी औषधिजन्य प्रयोग गरेर प्रमाणित गरी लागू गरिसकेको अवस्थामा अध्ययन र अनुसन्धानका लागि कानून बनाउन हुँदैन भनेर अड्किएको पाटोलाई गृह मन्त्रालयले सहजीकरण गर्ने उनले बताए ।