प्रहरीमा सरुवा आतंक फैलाउँदैछन् गृहमन्त्री लामिछाने ? तथ्यांकसहित संसदभित्र चर्चा

प्रहरीमा सरुवा आतंक फैलाउँदैछन् गृहमन्त्री लामिछाने ? तथ्यांकसहित संसदभित्र चर्चा


काठमाण्डु – नेपाल प्रहरीको ‘चेन अफ कमाण्ड’ भत्काएको र जथाभावी सरुवा आतंक फैलाएको विषय मंगलबार संसद् बैठकमा उठ्यो । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि लक्षित गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद एवं पूर्व मन्त्री अर्जुननरसिंह केसीले सरुवा आतंक मच्चाइएको चर्चा गरे ।

मंगलबार प्रतिनिधिसभा बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले गृहमन्त्री लामिछानेमाथि आरोप लगाए ।

प्रहरी ऐन विपरीत प्रहरीहरूको जथाभावी सरुवा किन गर्नुपर्‍यो भनी उनले प्रश्न गरे । गृह मन्त्रालयको १०० दिनमा गृहमन्त्री लामिछानेले सुरक्षा अंगहरूको ‘चेन अफ कमाण्ड’ नै ब्रेक गर्ने खालको काम गरेको र सुरक्षा निकाय प्रमुखलाई निरीह बनाएको उनको आरोप छ ।

गृहमन्त्रीले १०० दिनमा १७ पटक प्रहरी र ६६ जना सीडीओहरूलाई परिवर्तन गरेर सरुवा आतंक फैलाएको सांसद केसीको आरोप छ । उनले भने, ‘सय दिनमा १७ चोटी प्रहरीहरू परिवर्तन भए । ३४ सयभन्दा बढी प्रहरीहरू यो ३ महिनामा परिवर्तन भए । ६६ जना सीडीओ र सहायक सीडीओ परिवर्तन भएका छन् । सय दिनभित्र यत्रो परिवर्तनको आवश्यकता किन ? प्रहरी नियमावलीमा स्पष्ट रूपमा १ वर्षसम्म विशेष परिस्थिति वा काममा खोट देखिए मात्रै परिवर्तन गर्न सकिन्छ, नभए परिवर्तन गर्नु हुन्न भन्ने छ । त्यसरी अहिले सरुवा आतंक, आतंक मात्र होइन, प्रहरी भित्रको चेन अफ कमाण्डलाई लाचार छायाँ बनाउने खालको जुन काम गरिएको छ, त्यो गृहमन्त्रीजीबाट आशा गरिएको यो होइन ।’

उनले प्रहरीमा सरुवा आतंक किन गर्नुपर्‍यो भन्दै प्रश्न परेका छन् । उनले भने, ‘मैले सय दिन धैर्यतापूर्वक हेरें तर जुन ढंगको सरुवा आतंक, प्रशासनलाई निरीह छायाँ बनाउने र सुरक्षा अंगहरूमा चेन अफ कमाण्ड ब्रेक गर्ने र प्रमुखहरूमाथि नै बक्रदृष्टि राख्ने खालको स्थिति पुगेको छ । त्यस्ता विषयमा गम्भीर हुन म गृहमन्त्रीजीलाई आग्रह गर्न चाहन्छु । त्यो सरुवा आतंक किन गर्नुपर्‍यो ? ध्यानाकर्षण गराउन चाहें ।’