काठमाण्डु –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न प्रहरीले ६ दिन समय पाएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासले प्रहरीलाई सहकारी ठगीमा लामिछानेमाथि अनुुसन्धान गर्न ६ दिनको समय दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका सरकारी वकिलको कार्यालयमार्फत म्याद थपका लागि ६ दिनको म्याद लिएको थियो ।
लामिछाने सहकारी ठगी प्रकरणमा शुक्रबार पक्राउ परेका थिए । उनलाई प्रहरीले आज अदालतमा उपस्थित गराएको थियो ।
आइतबारको बहसमा जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायायधिवक्ता शान्तिदेवी शर्मा र विपिनराज तिवारी र पीडितको तर्फबाट वेदबहादुर विष्टले अनुसन्धानका लागि ६ दिनको म्याद थप गर्न माग गरेका थिए ।
लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ताहरु सुशील पन्त र नारायण घिमिरेले बहस गरेका थिए ।
यसअघि कास्की प्रहरीको टोलीले काठमाडौं गएर जोशीसँग भदौ ८ मा र लामिछानेसँग भदौ १० मा बयान कागज गराएको थियो । संसदीय समितिको प्रतिवेदन आएपछि असोज ६ मा गोर्खा मिडियाका पूर्वउपाध्यक्ष जोशी काठमाडौंको शंखमूलबाट पक्राउ परेका थिए । जोशीविरुद्ध अनुसन्धान गर्न कास्की जिल्ला अदालतले शुक्रबार २० दिनको म्याद थप गरिसकेको छ ।
पोखराको सूर्यदर्शन सहकारीको बचत हिनामिनामा संलग्न रहेको आरोपमा हालसम्म ६० जनालाई प्रतिवादी बनाइएको छ ।
प्रतिक्रिया