रविलाई भैरहवा लैँजादा रास्वपाको ठाँउ-ठाँउमा प्रदर्शनको आशंका

रविलाई भैरहवा लैँजादा रास्वपाको ठाँउ-ठाँउमा प्रदर्शनको आशंका

रणनीति जानकारी गराउन उपसभापतिद्वय वाग्ले र अर्यालद्वारा हिरासतमा भेट


काठमाण्डु – सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री भइसकेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पोखराबाट अनुसन्धानका लागि भैरहवा लैँजादा ठाँउ–ठाँउमा प्रदर्शन हुने आशंका प्रहरीले गरेको छ ।

२ कात्तिकमा काठमाण्डुमा पक्राउ गरेर पोखरा लैँजादा लामिछानेले स्थलमार्गबाट लैजान आग्रह गरेका थिए । उनको आग्रह बमोजिम स्थलमार्गबाट पोखरा पुर्‍याउँदा अवरोधको हेतु ठाँउ–ठाँउमा प्रदर्शन भएजस्तै पोखराबाट भैरहवा लैँजादा पनि प्रदर्शन हुन सक्ने आकलन प्रहरीले गरेको हो ।

प्रदर्शन उग्र हुने डरले प्रहरीले पोखराबाट पाल्पा हुँदै भैरहवा लैजाने वा पोखरबाट नारायणघाट हुँदै भैरहवा लैजाने भन्ने रुट सार्वजनिक गरेको छैन । प्रहरी स्रोतका अनुसार तात्कालिन अवस्थामा नै निर्णय गरेर रविलाई भैरहवा पुर्‍याइनेछ ।

सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम गोर्खा मिडिया नेटवर्क प्रा‍.लि‍.मा पुर्‍याएर अपचलन गरेको आरोपमा लामिछानेलाई जिल्ला अदालत, कास्कीबाट पक्राउ अनुमति कास्की प्रहरीले पक्राउ गरेर पठाइदिन भन्दै सीआईबीलाई अनुरोध गरेको थियो । त्यसअनुसार ब्यूरोबाट खटिएका प्रहरी उपरीक्षक होविन्द्र बोगटी नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो ।

पोखरामा उनको बयान सकिएकाले रुपन्देहीको सुप्रिम सहकारीमा भएको अपचलनको अनुसन्धान गर्न रुपन्देही प्रहरीले लामिछानेलाई रुपन्देही अदालतबाट अनुमति लिएर भैरहवा लैजान लागेको हो । भैरहवा लैँजादा बीचमा पर्ने अफ्ट्याराबारे कास्की प्रहरीले केन्द्रलाई जानकारी गराएको हो । त्यो अफ्ट्यारो टार्न केन्द्रले रविलाई लैजाने दुवै रुटमा पर्ने प्रहरीका युनिटलाई सतर्क रहन निर्देशन जारी गरिसकेको प्रहरी स्रोतले जानकारी दियो ।

पोखराबाट सभापति लामिछानेलाई भैरहवा पुर्‍याउँदा बीचमा कस्तो रणनीति अपनाउने भन्नेबारे अहिले रास्वपा उपसभापतिद्वय डा.स्वर्णिम वाग्ले र डोलप्रसाद अर्याल (डीपी) ले कास्की प्रहरीको हिरासतमा पुगेर लामिछानेसँग भेट गरेका छन् ।

उपसभापति अर्यालले लामिछानेसँग भेटका लागि दिउँसो ३ बजेको समय मागेकाले उपलब्ध गराइएको कास्की प्रहरीले जानकारी दियो । डा. वाग्ले र अर्यालले दिउँसो ३ बजेदेखि ५ बजेसम्म भेट्ने जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्तकुमार शर्माले पत्रकारहरूलाई जानकारी दिएका थिए ।

रास्वपा नेताहरूले हिरासतमा पुगेर उपसभापतिद्वयले लामिछानेसँग भेट गरेपछि दोस्रो चरणको आन्दोलनबारे निर्णय गरिने बताइरहेकाले पनि लामिछानेलाई पोखराबाट भैरहवा पु¥याउँदा बाटोमा अवरोध पुग्नेगरी प्रदर्शन हुन सक्ने आकलन प्रहरीको छ ।

रास्वपाले सभापति लामिछानेलाई राजनीतिक प्रतिशोध साँध्न पक्राउ गरेको आरोप लगाउँदै आन्दोलन गर्दैै आएको छ ।

कात्तिक २ गते काठमाडौंमा पक्राउ परेका लामिछानेमाथि कास्की प्रहरीले जिल्ला अदालत कास्कीबाट चार पटक म्याद थपिसकेको छ ।

लामिछानेलाई रुपन्देही पठाइदिन जिल्ला प्रहरी कार्यालय रुपन्देहीले कास्की प्रहरीलाई गत साता नै पत्राचार गरेकाले मंगलबार भैरहवा लैजान लागिएको प्रहरीले बताएको छ । लामिछानेविरुद्ध पूरक अनुसन्धान प्रतिवेदन लैजाने गरी इलाका प्रहरी कार्यालय बुटवलले अनुसन्धान जारी राखेको छ ।