रवि लामिछानेको आजको बयान सकियो

रवि लामिछानेको आजको बयान सकियो


काठमाण्डु– सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान सकिएको छ । कास्कीबाट भैरहवा लगिएका लामिछानेको बुधबार जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान सकिएको हो ।

बुटवलको सुप्रिम सहकारी बचत ठगी गरेको आरोपमा रविलाई मंगलबार कास्कीबाट रुपन्देही लगिएको थियो । मंगलबार बाटै सुरु गरिएको बयान बुधबार साँझ (साढे ७ मा) सकिएको जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख एवं जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले जानकारी दिए।

उनीसँग बुधबार विहान सवा १० बजेदेखि सांझ सवा ७ बजेसम्म बयान लिइएको थियो । बयानको क्रम भोलि पनि चल्ने  छ । बयान रुजु गर्न र रोलक्रम गर्न बाँकी रहेकाले भोलि पनि बयाज जारी राखिने न्यायाधिवक्ता पौडेलले जानकारी दिए।

सूर्यदर्शन ठगी प्रकरणमै पक्राउ परेका रविका व्यावसायिक साझेदार छविलाल जोशी बन्जाडेलाई यसअघि नै बुटवल लगेर बयान लिई पुन:  पोखरा फर्काइसकिएको छ।

उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान चलिरहेको छ।  बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गरिरहेको छ ।

बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

कास्की जिल्ला अदालतले उनलाई पछिल्लोपल्ट १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको छ, जुन मंसिर ८ गते सकिनेछ।