काठमाण्डु – कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जोडिएका पूर्वउपप्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि शनिबार साँझ काठमाण्डौ ल्याइने भएको छ ।
कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलन आरोपमा पक्राउ परी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा बयान लिन काठमाण्डौ ल्याउन लागिएको हो ।
लामिछानेलाई शनिबार साँझ काठमाडौं ल्याएर आइतबारबाट बयान लिने तयारी रहेको काठमाण्डौ प्रहरी परिसर स्रोतले जानकारी दियो ।
स्वर्णलक्ष्मी सहकारीका सञ्चालक रहेका नेपाल प्रहरीका पूर्वडीआईजीपी छविलाल जोशीलाई बयान सकेर आजै पोखरा पठाइएको छ । हवाइ मार्गबाट आज जोशीलाई पोखरा पु¥याएर शनिबार लामिछानेलाई काठमाण्डौ ल्याउने तयारी प्रहरीले गरेको हो ।
‘छबिलाई पोखरा पुर्याएपछि भोलि शनिबार साँझ राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई काठमाडौं ल्याउने तयारी छ,’ काठमाण्डौ प्रहरी परिसर स्रोतले भन्यो ।
मंगलबार साँझ पोखराबाट काठमाडौं ल्याइएका जोशीको बुधबार र बिहीबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौमा बयान लिइएको थियो । बयान सकिएपछि जोशीलाई आजै पोखरा फिर्ता गरिएको हो ।
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा ६४५ बचतकर्ताले जाहेरी दिएपछि प्रहरी वृत्त कालीमाटीले अनुसन्धान सुरु गरेको थियो । अहिले जिल्ला प्रहरी परिसरले कालीमाटीबाट फाइल झिकाएर अनुसन्धान गरिरहेको छ । स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड रकम अपचलन भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
जोशी ६ असोज र लामिछाने २ कात्तिकदेखि प्रहरी हिरासतमा छन् । उनीहरूमाथि पोखराको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारीमा पनि अनुसन्धान भइरहेको छ । यसका लागि चितवनको साहारा चितवन सहकारीमा पनि उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
प्रतिक्रिया