काठमाण्डु – काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको बचत अपचलनका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान आज सक्ने तयारी प्रहरी र जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुले गरेका छन् ।
बयानका लागि बिहान ११ बजे नै सरकारी वकिलको कार्यालय लगिएका लामिछानेको बयान जारी छ । ठगीको अनुसन्धानका लागि पोखराबाट बिहीबार काठमाडौं ल्याइएका लामिछानेलाई आजै बयान सकेर पोखरा फर्काउने तयारी रहेको एक अनुसन्धान अधिकृतले जानकारी दिए ।
‘शुक्रबार पनि बयान लिइएकाले आज बयान सकेर पोखरा फर्काउने तयारी छ । त्यसै अनुरुप बयान लिने काम भइरहेको छ,’ एक अनुसन्धान अधिकृतले भने ।
लामिछानेसँग शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालयमा बिहान ९ बजेदेखि दिउँसो साढे ३ बजेसम्म बयान लिइए पनि नसकिएर आज पुनः बयान लिइएको हो ।
कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीमा भएको अनियमितता प्रकरणमा लामिछानेविरुद्ध २ मंसिरमा पक्राउ पूर्जी जारी भएको थियो । प्रहरीले स्वर्णलक्ष्मी सहकारीमा छापा मार्दा गाडी किन्न रवि लामिछाने र जिबी राईले दुई पटक गरेर ४६÷४६ लाख रुपैयाँ लिएको भेटिएपछि लामिछानेविरुद्ध प्रहरीले जिल्ला अदालत काठमाण्डुबाट पक्राउ अनुमति लिएको हो ।
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा रकम अपचलनबारे अनुसन्धान गर्न ६४५ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन् ।
स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड निक्षेप अपचलन भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । २७ हजार निक्षेपकर्ताले सो सहकारीमा २ अर्ब ६५ करोड ९५ लाख जम्मा गरेको सहकारीको रेकर्डमा भेटिएको छ ।
पोखराको सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम अपचलन भएको प्रकरणमा प्रहरीले लामिछानेलाई २ कात्तिकमा वनस्थलीस्थित रास्वपाको पार्टी कार्यालयबाट पक्राउ गरेपछि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान थालिएको थियो । पछि कास्की प्रहरीले सम्पत्ति शुद्धिकरणको कसुरमा पनि लामिछानेविरुद्ध अनुसन्धान थालेको थियो ।
लामिछानेमाथि बुटवलको सुप्रिम सहकारी, चितवनको साहारा सहकारी लगायतमा भएको रकम हिनामिनामा पनि अनुसन्धान भइरहेको छ । प्रहरी अधिकृतहरुले ऋण तिर्न भन्दै लामिछानेले काटेका चेकहरु समेत बरामद गरेका छन् भने लामिछाने र उनकी पत्नीको खातामा भएका ५० करोड बढी रुपैयाँ बराबरको कारोबार पनि फेला पारेको छ ।
प्रतिक्रिया