लामिछानेविरुद्ध संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमा ५ पुसभित्र मुद्दा दर्ता गरिने

लामिछानेविरुद्ध संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमा ५ पुसभित्र मुद्दा दर्ता गरिने


काठमाण्डु – पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सहकारीको रकम अपचलनमा भइरहेको अनुसन्धान टुंग्याएर ५ पुसभित्र जिल्ला अदालतमा मुद्दा दर्ता गरिने भएको छ । उनको अनुसन्धानमा संलग्न कास्की प्रहरीका एक अधिकृतले ५ पुससम्म आफूहरू ले अनुसन्धान प्रतिवेदन फाइल गरिसक्ने जानकारी दिए ।

२ कात्तिकमा काठमाण्डौको चःमतिस्थित पार्टी कार्यालयबाट पक्राउ परेका लामिछानेलाई अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ । लामिछानेविरुद्ध प्रहरीले संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।

यी मुद्दामा प्रहरीले हिरासतमा लिएको ९० दिनभित्र अदालतमा मुद्दा फाइल गर्नुपर्छ । ‘९० दिनभित्र अनुसन्धान प्रतिवेदन अदालतमा पठाउनुपर्नेमा स्थिति छ, तोकिएकै अवधिमा प्रतिवेदन बुझाइसक्ने गरी प्रहरीले काम गरिरहेको छ,’ स्रोतले भन्यो ।

लामिछाने पक्राउ परेको ५५ दिन भए पनि एउटै मुद्दामा ६ असोजमा पूर्वडीआईजीपी छविलाल जोशी पक्राउ परेकाले म्याद मिलान गर्दा ५ पुससम्म मुद्दा दर्ता गर्ने तयारी गरिएको प्रहरी स्रोत बताउँछ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले लामिछानेमाथिको अनुसन्धान लगभग अन्तिम चरणमा पुर्‍याइएको जनाएको छ । सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर जथाभावी खर्च गरेको देखिएको र यसको रकम तिर्ने कार्यमा लामिछाने सरिक भएको भन्दै उनी ठगीमा संलग्न रहेको पुष्टि हुने निष्कर्षसहित प्रहरीले प्रतिवेदन बुझाउन उनको अनुसन्धानमा संलग्न एक अधिकृतले जानकारी दिए ।

प्रहरीले लामिछानेले विभिन्न सहकारीलाई ऋण तिर्न काटेको चेक बरामद गरेपछि यसलाई सहकारी ठगीमा संलग्न बलियो प्रमाणका पेस गर्ने तयारी गरेको छ । गोर्खा मिडिया र सुप्रिम सहकारीमाथि अनुसन्धानका क्रममा लामिछानेले काटेको चेक प्रहरीले फेला पारेको थियो ।

लामिछानेले भने बयानका क्रममा गोर्खा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशक हुँदा कतिपय अवस्थामा अत्यावश्यक कामका लागि रित्तो चेक काटेर घर्रामा छाड्ने गरेको बताएका थिए ।

पोखराको सूर्यदर्शन सहकारीबाट सुरु भएको लामिछानेमाथिको अनुसन्धान काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा चितवन र वीरगञ्जको सानो पाइला सहकारीमा बचतकर्ताको रकम अनियमिततासम्म पुग्यो ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट लामिछाने र जिबीको नाममा दुई पटक गरेर गाडी खरिद गर्न ४६, ४६ लाख रुपैयाँ ऋण प्रवाह गरिएको प्रहरीले अनुसन्धानका क्रममा तथ्य फेला पारेको थियो ।

पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था, साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था र नेपालगञ्जको समानता सहकारीबाट २२ करोड ४६ लाख ३० हजार रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको अनुसन्धानका क्रममा देखिएको छ ।

बाँकी रकम विभिन्न व्यक्तिको नाममा ऋण लिएर गोर्खा मिडिया नेटवर्कमा लगेको भेटिएको थियो ।