काठमाण्डु – प्रहरीले कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको ठगीमा पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पाँच करोड ५८ लाख बिगो माग गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्ला सरकारी वकिलको कार्यालयमा सोमबार बुझाएको प्रतिवेदनमा लामिछानेसँग पाँच करोड ५८ लाख रुपैयाँ बिगो कायम हुनुपर्ने राय दिइएको छ ।
प्रहरीले पूर्वडीआईजीपी छविलाल जोशीसँग पनि त्यत्तिकै मात्रामा बिगो कायम हुनुपर्ने माग गरेको कास्की प्रहरीले जानकारी दिएको छ ।
रविसहित ५१ जनालाई विपक्षी बनाइएको मुद्दामा १ अर्ब ५१ करोड बिगो माग दाबी गरिएको छ । कुल प्रतिवादी ६५ जना भएतापनि १४ जनाको ठेगाना नखुलेका कारण अहिले ५१ जनालाई मात्र प्रतिवादी बनाइएको प्रहरीले जनाएको छ ।
कास्की प्रहरीले सूर्यदर्शन सहकारीमार्फत् ग्यालेक्सी टेलिभिजनमा आएको रकम बराबरको बिगो रवि र छविको भागमा राखिएको जानकारी दिएको हो ।
कास्की प्रहरीले त्यतिमात्रामा बिगोसहित सहकारी ठगी प्रकरणमा चार देखि ६ वर्ष कैद सजाय माग गरेको छ । त्यस्तै उनीहरूविरुद्ध संगठित अपराधमा थप तीन वर्ष कैद सजायको माग प्रहरीले गरेको छ ।
सम्पत्ति शुद्धीकरण मुद्दामा थप २ देखि १० वर्ष सजाय र बिगो बराबरको जरिबाना हुनुपर्ने कानुनी व्यवस्था छ ।
प्रतिक्रिया