काठमाण्डु- रास्वपाका सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।
उनीविरुद्ध जिल्ला अदालत कास्कीमा अभियोग दर्ता गर्ने प्रहरीको तयारी छ । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसँगै बाँकी ५ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अभियोग दर्ता गराउन लागेको हो । अहिले कास्की जिल्ला अदालत क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा सरकारी वकिलको कार्यालयले शुक्रवार सहकारीका तत्कालीन अध्यक्ष एवं ग्यालेक्सी फोरके टेलिभिजनका अध्यक्ष जीबी राईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो भने बाँकी प्रतिवादी विरुद्ध आज मुद्दा गराउने तयारी गरेको छ ।
यो प्रकरणमा गत असोज ६ गते पक्राउ परेका छविलाल जोशी हिरासतमा रहेको गत शुक्रबार नै ९० दिन पुगिसकेको छ । रवि भने गत कात्तिक २ देखि प्रहरीको हिरासतमा छन् ।
सम्पत्ति शुद्धीकरण आरोपमा बढीमा ९० दिन मात्रै हिरासत राख्न पाइने कानुनी व्यवस्थाअनुरूप उनीविरुद्ध शुक्रबार नै अभियोगपत्र दर्ता हुने अनुमान गरिएको थियो । तर जिल्ला सरकारी वकिल कार्यालयले आज मात्रै मुद्दा दर्ता गर्न लागेको हो ।
आज दर्ता गर्दा पनि कानुनले व्यवस्था गरेको म्यादभित्रै हुने कास्की जिल्ला सरकारी वकिल कार्यालयकी प्रमुख जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले बताइन् ।
रविविरुद्ध पछिल्लोपटक थपिएको ४ दिनको हिरासत म्याद शुक्रबार मध्यराति सकिएको थियो । तर शुक्रबार सोही प्रकरणमा जीबी भन्ने गितेन्द्रबाबु राईसहित १९ जनाविरुद्ध थप कसुरमा सजायको माग गर्दै जिल्ला अदालतमा पूरक अभियोगपत्र दायर गरिएको थियो ।
अघिल्लो मुद्दामा सूर्यदर्शनका पदाधिकारीले बचतकर्ताको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ हिनामिना गरेको दाबी गरिएको थियो । तर शुक्रबार दायर गरिएको अभियोग पत्रमा १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगो कायम गरिएको छ ।
उनीहरूलाई सहकारी ऐनअनुसार बिगो भराउन र बिगो बराबरको जरिवाना गराउन माग गरिएको छ । सोही ऐन अनुसार कैद सजायको पनि माग गरिएको थियो ।
जीबी राईविरुद्ध भने क्रिप्टो करेन्सीमा कारोबार गरेको आरोपमा समेत सजाय माग गरिएको छ ।
यसअघि सहकारी ठगी आरोपमा २०८० भदौमा अभियोगपत्र दायर भएका सूर्यदर्शन सहकारीका पूर्वअध्यक्ष जीबी राई, उनका दाजु भूपेन्द्र राई, वर्तमान अध्यक्ष थानबहादुर बुढा, सञ्चालक समितिका उपाध्यक्ष कैलाशकुमार दर्लामी, सचिव धीरजकुमार दास, कोषाध्यक्ष कुमार रम्तेलसहितविरुद्ध मुद्दा दर्ता भएको थियो । यस्तै सदस्यहरू हेमन्त अधिकारी, कविता तामाङ र प्रमोद भट्टराई, पूर्वसचिव अनुज नकर्मी र सुरज श्रेष्ठ, सञ्चालक सदस्यहरू शिवबहादुर गुरुङ, भविश्वर अर्याल र आइस्मा गुरुङ, लेखा समितिका संयोजक सागर केसी, सदस्य दिनेश रोका र ललिता तामाङ, लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरुङविरुद्ध सरकारी वकिल कार्यालयले बिगो बढाउँदै थप कसुरमा सजाय माग गर्दै अभियोगपत्र दायर भएको हो ।
पूरक अभियोग लगाइएकामध्ये ६ जना कास्की कारागार र ३ जना अन्य कारागारमा छन् । १० जना भने फरार छन् ।
प्रतिक्रिया