रवि लामिछाने काठमाडौं आइपुग्न ढिला हुने, अदालतमा उपस्थित हुने सम्भावना न्यून

रवि लामिछाने काठमाडौं आइपुग्न ढिला हुने, अदालतमा उपस्थित हुने सम्भावना न्यून


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पोखराबाट आइपुग्न ढिला हुने भएको छ । बिहानको हवाइजहाज टिकक नपाएपछि लामिछाने स्थल मार्गबाट काठमाडौँ आइरहेका उनका सहयोगीहरूले जनाएका छन् ।

लामिछाने आज बिहान १० बजे काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भनिएको थियो ।

तर, आज शुक्रबार रहेको र स्थलमार्गबाट काठमाडौँ आउन ढिला हुने भएकाले अदालतमा उपस्थित हुने सम्भावना न्यून रहेको रास्वपाका नेताहरूले बताएका छन् ।

आज नभ्याइएमा लामिछाने आइतबारमात्रै अदालतमा हाजिर हुने उनी निकट स्रोतले जानकारी दियो । यसअघि रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले पहिलो फ्लाइटबाट आज बिहानै काठमाडौं आउने पत्रकारहरूलाई जानकारी दिएका थिए ।

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दा लागेर जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई न्यायाधीश नितिज राईको इजलाशले बिहीबार ६५ लाख धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएको थियो ।

लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था ठगीविरुद्ध पनि मुद्दा रहेकाले आफैँ काठमाडौं जिल्ला अदालतमा उपस्थित हुनुपर्ने भएको हो ।

लामिछानेलाई कास्की प्रहरीले बिहीबार साँझ रिहा गरेर परिवारको जिम्मा लगाएको थियो । लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । त्यसपछि उनलाई पोखरा लगिएको थियो ।