रवि लामिछानेविरुद्ध बुटवलमा पनि मुद्दा चलाइँदै

रवि लामिछानेविरुद्ध बुटवलमा पनि मुद्दा चलाइँदै


काठमाण्डु–इलाका प्रहरी कार्यालय बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरूद्धको सहकारी ठगी मुद्दाको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ।

प्रहरीले बिहीबार सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा लामिछानेसहितका व्यक्तिलाई प्रतिवादी बनाउनुपर्ने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बुझाएको हो।

सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि लामिछाने कार्तिक २७ गते भैरहवास्थित सरकारी वकिलको कार्यालयमा पुगेर बयान दिएका थिए।

सुप्रिम सहकारीका एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख बढी बचत रकम हिनामिना गरेको दाबी गर्दै गत वैशाख ३ गते लामिछाने सहित २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो।

सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा लामिछाने जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर बिहीबार छुटेका थिए।

उनले आज काठमाडौं आएर आफै अदालतमा उपस्थित हुने भनेका थिए । तर स्थलमार्गबाट काठमाडौं आउन परेकाले आज अदालतमा उपस्थित नहुने भएका छन् । अव उनी आइतबार अदालत जाने छन् ।