रवि लामिछाने आइतबारमात्रै अदालतमा उपस्थित हुने

रवि लामिछाने आइतबारमात्रै अदालतमा उपस्थित हुने


काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित नहुने भएका छन् ।

लामिछाने पोखराबाट काठमाडौं आइनपुगेपछि आज अदालतमा उपस्थित नहुने भएका हुन्

बिहीबार कास्की जिल्ला अदालतको आदेशपछि थुनामुक्त भएका लामिछाने स्थलमार्ग हुँदै काठमाडौं आउँदै छन् । पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाका अनुसार लामिछाने बिहान १० बजे नै स्थलमार्ग हुँदै पोखराबाट हिंडेका थिए ।

उनी अब आइतबारमात्रै अदालत उपस्थित हुने रास्वपा कार्यवाहक प्रवक्ता मनिष झा जानकारी दिए ।

यसअघि झाले पहिलो फ्लाइटबाट आज बिहानै काठमाडौं आउने पत्रकारहरूलाई जानकारी दिएका थिए ।बिहानको हवाइजहाज टिकट नपाएपछि लामिछाने स्थल मार्गबाट काठमाडौँ आइरहेका छन् ।

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दा लागेर जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई न्यायाधीश नितिज राईको इजलाशले बिहीबार ६५ लाख धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएको थियो ।

लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था ठगीविरुद्ध पनि मुद्दा रहेकाले आफैँ काठमाडौं जिल्ला अदालतमा उपस्थित हुनुपर्ने भएको हो ।

लामिछानेलाई कास्की प्रहरीले बिहीबार साँझ रिहा गरेर परिवारको जिम्मा लगाएको थियो । लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । त्यसपछि उनलाई पोखरा लगिएको थियो ।