भैरहवा – पक्राउ परेका रास्वपाका सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई प्रहरीले भैरहवा पुर्याएको छ । प्रहरीले लामिछानेलाई विमानमार्फत भैरहवा लगेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखिएको छ ।
सहकारी ठगीसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले शुक्रबार थुनामा राख्न आदेश दिएपछि प्रहरीले लामिछानेलाई शुक्रबार राति काठमाण्डुबाट पक्राउ गरी शनिबार बिहान यति एयरलाइन्सको विमानमा भैरहवा लगेको हो ।
शनिबार र आइतबार लामिछानेलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखिने प्रहरी उपरीक्षक (एसपी) रञ्जितसिंह राठौरले जानकारी दिए । ‘शनिबार र आइतबार सार्वजनिक बिदा छ, पहिला अदालत पेस गर्नुपर्ने हुन्छ, त्यसपछि कारागार पठाउने हो,’ उनले भने ।
सोमबार अदालत खुलेपछि लामिछानेलाई पेस गरिने र त्यसपछि मात्रै उनलाई कारागार चलान गरिने एसपी राठौरले बताए ।
सहकारीको रकम अपचलनकै कसुरमा यसअघि पक्राउ गरेर पुर्पक्षमा कारागारमै रहेका सुप्रिम सहकारीका अध्यक्ष ओम गुरूङलाई भैरहवा जिल्ला कारागारको बल्क नं. १ मा राखिएको छ । छविलाल जोशीलाई ब्लक नं. २ मा राखिएको छ ।
प्रतिक्रिया