लामिछानेको सांसद पद निलम्बनमा परे पनि रास्वपा संसदीय दलको नेता

लामिछानेको सांसद पद निलम्बनमा परे पनि रास्वपा संसदीय दलको नेता


काठमाण्डु – प्रतिनिधि सभा सचिवालयले जिल्ला प्रहरी कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका नेतासमेत रहेका रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धिकरणको कसुरमा समेत जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको जानकारी दिएपछि उनको सांसद पद निलम्बन भएको सूचना निकालेको छ ।

सोमबार सभामुख देवराज घिमिरेले गरेको निर्णय बमोजिम संघीय संसद् सचिवालयका महासचिव पद्मराज पाण्डेयले लामिछानेको संसद् पद निलम्बन भएको सूचना निकालेका हुन् ।

लामिछानेको संसद् पद निलम्बन भए पनि उनी रास्वपाको संसदीय दलको नेता कायमै छन् । दलको नेता बन्न सांसद पद हुनुपर्छ तर लामिछानेको संसद पद निलम्बनमा परे पनि रास्वपाले उनलाई संसदीय दलको नेताबाट हटाएको छैन ।

लामिछानेको सांसद् पद निलम्बनसँगै संसदीय दलको नेता खाली भए पनि रास्वपाका नेताहरू भने तत्काल नयाँ दलको नेता नबनाउने बताइरहेका छन् । बरु रास्वपाले पार्टी सभापतिसमेत रहेका लामिछानेलाई सांसदबाट गरिएको निलम्बनविरुद्ध कानूनी उपचार खोज्न अदालत जाने तयारी गरेको छ ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियार र सांसदद्वय सोबिता गौतम र गणेश पराजुलीले सोमबार सभामुख देवराज घिमिरेलाई भेटेर तत्काल निलम्बन नगर्न आग्रह गरे पनि सभामुख घिमिरेले कास्की प्रहरीको पत्रका आधारमा निलम्बनको सूचना निकालेका थिए ।

रास्वपाले भने संसद् नियमावली अनुसार यदि अदालतले पुर्पक्षका लागि थुनामा पठाएको खण्डमा मात्रै निलम्बन गर्न मिल्ने भए पनि सभामुख घिमिरेले राजनीतिक पूर्वाग्रह राखेर गैरकानूनी निर्णय गरेकाले त्यसविरुद्ध अदालत जाने तयारी गरेको छ ।

सँगै रास्वपाले रविको निलम्बन नस्वीकार्ने र यसको कानूनी निरोपण नभएसम्म अर्को संसदीय दलको नेता नखोज्ने जानकारी पनि संसद सचिवालयलाई गराउने तयारी गरिरहेको एक नेताले जानकारी दिए ।