काठमाण्डु – सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री भइसकेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पोखराबाट अनुसन्धानका लागि भैरहवा लगिँदै छ।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगीको आरोपमा अनुसन्धान गर्न उनलाई बिहानै बुटवल लान लागिएको हो। पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई प्रहरीले कडा सुरक्षाकाबीच अहिले पोखरा विमानस्थल पुर्याएको छ।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन अभियोगमा कात्तिक २ देखि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेविरुद्ध रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी सम्बन्धमा पनि अनुसन्धान गर्न त्यसतर्फ लगिएको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बयानलगायत अनुसन्धानका लागि बुटवल पठाइदिन पत्राचार गरेपछि कास्की प्रहरीले सूर्यदर्शनबारेको बयान सकेर उनलाई आज भैरहवा लगेको हो। रुपन्देहीबाट पनि उनीविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ। यसअघि छविलाल जोशीलाई बुटवल लगी बयान सकेर पोखरा नै फिर्ता पठाइएको थियो।
जोशी असोज ६ गते र लामिछाने कात्तिक २ गते पक्राउ परेका हुन्। उनीहरूलाई अझै १३ दिन हिरासतमा राख्न कास्की अदालतले जिल्ला प्रहरीलाई अनुमति दिएको छ।
रास्वपाले सभापति लामिछानेलाई राजनीतिक प्रतिशोध साँध्न पक्राउ गरेको आरोप लगाउँदै आन्दोलन गर्दैै आएको छ । कात्तिक २ गते काठमाडौंमा पक्राउ परेका लामिछानेमाथि कास्की प्रहरीले जिल्ला अदालत कास्कीबाट चार पटक म्याद थपिसकेको छ ।
लामिछानेलाई रुपन्देही पठाइदिन जिल्ला प्रहरी कार्यालय रुपन्देहीले कास्की प्रहरीलाई गत साता नै पत्राचार गरेकाले मंगलबार भैरहवा लैजान लागिएको प्रहरीले बताएको छ । लामिछानेविरुद्ध पूरक अनुसन्धान प्रतिवेदन लैजाने गरी इलाका प्रहरी कार्यालय बुटवलले अनुसन्धान जारी राखेको छ ।
प्रतिक्रिया