रविको बयान : गोर्खा मिडियामा सहकारीको रकम भित्र्याउन मेरो कुनै भूमिका छैन

रविको बयान : गोर्खा मिडियामा सहकारीको रकम भित्र्याउन मेरो कुनै भूमिका छैन

‘कर्मचारीलाई तलब, सुविधा र अन्य प्रशासनिक खर्चको चेक काटेको हुँ’


काठमाण्डु – पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू गोर्खा मिडिया प्रा.लि.मा पुग्दा सहकारीको रकम भित्रिसकेकाले सहकारीको रकम भित्र्याउन आफ्नो कुनै भूमिका नरहेको बताएका छन् ।

सहकारी ठगी र संगठित अपराधको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेले प्रहरीसँगको बयानमा सहकारीको रकम गोरखा मिडियामा ल्याउनुमा आफ्नो कुनै भूमिका नरहेको बयान दिएका हुन् ।

‘म गोर्खा मिडियामा पुग्दा सहकारीको रकम भित्रिसकेको थियो । त्यसमाथि म त्यहाँ कामदार भएर भित्रिएको हुँ,’ लामिछानेले बयानमा भनेको उनको अनुसन्धानमा संलग्न प्रहरीका एक अधिकृतले भने, ‘मिडियामा लगानी जुटाउने नीतिगत निर्णय कामदारले गर्दैन । सञ्चालक समितिको नेतृत्वकर्ताले गर्छ । तसर्थ त्यसको सम्पूर्ण जिम्मेवारी तत्कालीन अध्यक्ष जितेन्द्र बाबु राईले लिनुपर्छ ।’

गत शुक्रबार पक्राउ परेका लामिछानेसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रहरी निरीक्षकसहितको टोलीले सोमबारदेखि बयान लिइरहेको छ । उनीसँग आज पनि बयान लिइने प्रहरीले जनाएको छ ।

प्रहरीले सोधेका अधिकांश प्रश्नमा इन्कारी बयान दिएका लामिछानेले अहिलेसम्म आफूमाथि लागेका सबै आरोप अस्वीकार गरिरहेका अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले जानकारी दिए ।

लामिछानेमाथि सूर्यदर्शनसहित पाँच वटा सहकारीबाट ६५ करोड बढी रकम गोरखा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोप लागे पनि उनले बयानका क्रममा त्यो अस्वीकार गरेका हुन् ।

सोमबार लामिछानेसँग करिब चार घण्टा बयान लिएको अनुसन्धान टोलीले आज पनि बयान लिइरहेको जानकारी दिएको छ ।

गोर्खा मिडियामा प्रबन्ध निर्देशक भएर भित्रिएका लामिछानेले सहकारीको आफू सदस्य नभएको र त्यो अवस्थामा आफूले ऋण लिने कुरा नभएको बयान दिएका छन् । प्रहरीले रविका पार्टनर छविलाल जोशीलाई पक्राउ गरेर बयान लिइसकेको छ । प्रहरीले जोशीसँग लामिछानेले लिएको १५ प्रतिशत सेयरबारे पनि प्रश्न सोध्दा आफूले उक्त सेयर फिर्ता गरिसकेको बताएका अनुसन्धान अधिकृतहरूले बताएका छन् ।

सहकारी ठगीसम्बन्धी विशेष संसदीय छानबिन समितिलाई सूर्यदर्शन सहकारीका कोषाध्यक्ष मदनकुमार रम्तेलले सहकारीको रकम बैंकमा जम्मा गरेका व्यक्ति रवि नै हुन् भन्ने बयान दिएका थिए । प्रहरीले सोधेको त्यससम्बन्धी प्रश्नमा लामिछानेले सहकारीको सदस्य नभएका व्यक्तिले ऋण लिन सक्ने अवस्था नरहेको बताएका थिए ।

लामिछानेले प्रहरीसँग प्रशासनिक जिम्मेवारीमा रहेकाले कर्मचारीलाई तलब, सुविधा र अन्य प्रशासनिक खर्चको चेक आफूले काटेको बयान दिएका स्रोतले बतायो ।

सूर्यदर्शनलगायत सहकारीको पैसा गोर्खा मिडियामा ल्याएर दुरूपयोग गरेको भन्दै संसदीय छानबिन विशेष समितिले लामिछानेसहित अध्यक्ष गितेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल र सदस्य जोशीलाई कारबाही गर्न सिफारिश गरेको थियो ।

प्रतिवेदन कार्यान्वयनका क्रममा रविलाई पक्राउ गरिएको हो । प्रहरीले गत शुक्रबार राति काठमाडौंको वनस्थलीस्थित रास्वपाको कार्यालयबाट लामिछानेलाई पक्राउ गरेको थियो । अर्का सदस्य छविलाल जोशी बञ्जाडे झण्डै एक महिनादेखि प्रहरी हिरासतमा छन् । कोषाध्यक्ष रम्तेल पनि प्रहरी हिरासतमै छन् भने अध्यक्ष राई फरार छन् ।