खुकुलो लकडाउन र कोरोना संक्रमणबाट बच्ने उपाय : डा. रवीन्द्र पाण्डे

खुकुलो लकडाउन र कोरोना संक्रमणबाट बच्ने उपाय : डा. रवीन्द्र पाण्डे


डा. रवीन्द्र पाण्डे– आजदेखि लकडाउन खुकुलो भएको छ । कोरोना संक्रमण अनिश्चित कालसम्म रहनसक्ने तथा हाम्रा आधारभूत आवश्यकता आजको आजै अनिबार्य भएकोले लकडाउन खुकुलो गर्नुको बिकल्प छैन ।

हामीले के बिर्सिनु हुँदैन भने संक्रमित व्यक्तिको संख्या थोरै हुँदा हामीले लकडाउन गर्यौ । संक्रमितको संख्या बढिरहेको स्थितिमा लकडाउन खुकुलो गर्दैछौं । लकडाउन खुकुलो भएसंगै हामीले कोरोना संक्रमण रोकथामको लागि थप सतर्क र सजग हुनु जरुरी छ । यहांहरुले निम्न लिखित अभ्यासलाई आफ्नो जीवनशैली बनाउनु भयो भने कोरोना संक्रमणसंग बच्न सकिन्छ ।

१. लकडाउन खुकुलो भएपनि अत्यावश्यक कामबाहेक घरमै बस्नुहोला ।

२. घरबाहिर निस्कँदा सर्जिकल मास्क वा कटनको २ पत्रे मास्क सहि तरिकाले लगाउनुहोला । घरमा आएपछि त्यो मास्कलाई धोएर सुकाउने वा घाम र हावा खेल्ने ठाउँमा राख्नुहोला । मास्कले नाक र मुखमा एयर टाइट हुने गरि छोप्नुहोला । प्रयोग गरेको मास्क बाटोमा नफाल्नुहोला । सकभर चस्मा र पंजाको पनि प्रयोग गर्नुहोला ।

३. कोरोना संक्रमणको प्रमुख रोकथाम व्यक्तिगत दुरी हो । घर बाहिर निस्किएपछि बाटोमा, पसलमा, बसमा, काम गर्ने ठाउँमा, खाजा खाने ठाउँमा, सामान किन्ने ठाउँमा अर्थात हरेक ठाउँमा ६ फिटको दुरी कायम गर्नुहोला ।

४. सकभर नाक, मुख, आँखामा हात लैजाने बानी छोड्नुहोला । हरेक बस्तु छोएपछि, बाहिरबाट आएपछि, खाना खानुअघिं तथा अन्य समयमा पनि साबुनपानीले मिचिमिची हात धुनुहोला । साबुनपानी नभएको ठाउँमा ह्याण्ड स्यानिटाइजरले हात सफा गर्नुहोला ।

५. सार्वजिक यातायातमा संक्रमण सर्ने जोखिम हुने भएकोले छोंटो दुरीमा पैदल हिंड्ने बानी गर्नुहोला । भौतिक दुरी कायम हुनेगरि सवारी साधन चढ्दा मास्क, चस्मा, पंजा तथा स्यानिटाइजर अनिबार्य रुपमा प्रयोग गर्नुहोला ।

६. कोरोना संक्रमण सर्ने सबैभन्दा खतरनाक ठाउँ भीडभाड हो । भीडमा झुक्किएर पनि नजानुहोला । भौतिक दुरीको मुलमन्त्र नबिर्सनुहोला ।

७. खोकी लागेमा, हान्च्छ्युं आएमा, रुघा लागेमा तथा ज्वरो आएमा निको नहुने बेलासम्म घरबाहिर नजानुहोला । यस्तो बेला कुहिनातिर फर्केर खोक्ने, हाच्छ्युं गर्ने, टिस्यु पेपर वा सफा रुमाल प्रयोग गर्ने, अनि हात सफा गर्ने गर्नुहोला । अरु मान्छेतिर फर्केर कहिल्यै पनि नखोक्नुहोला, हाच्छ्युं नगर्नुहोला । यो बानी हामीले सुधार्नु जरुरी छ ।

८. आफुले काम गर्ने र गराउने ठाउँमा भौतिक दुरी, सरसफाई तथा भेन्टिलेसनको ब्यबस्था मिलाउनुहोला । बन्द कोठामा भाइरस लामो समयसम्म रहन्छ ।

९. सकभर खाजा घरबाटै लिएर जानुहोला । क्यान्टिन वा चियापसलको भीडबाट बच्नुहोला ।

१०. आफ्नो काम सकिएपछि सिधै घरमा फर्किने बानी गर्नुहोला ।

११. घरमा फर्केपछि मास्क, रुमाल, पंजा, चस्मा, झोला, बाहिरी कपडालाई घरबाहिर वा घरको हावा लाग्ने गल्ली, कौसीमा राख्नुहोला ।

१२. सानोतिनो समस्या भएमा अस्पताल नजानुहोला । घरेलु उपचार तथा प्राथमिक उपचारले निको नभएमा भीडभाड नहुने स्वास्थ्य संस्थामा जानुहोला । त्यहाँ ६ फिटको दुरी कायम गर्ने, मास्क लगाउने गर्नुहोला ।

१३. तरकारी,फलफूल तथा अन्य सामान किन्नको लागि सपिंग मल, डिपार्टमेन्टल स्टोरजस्ता भीडभाड हुने ठाउँभन्दा नजिकको किराना पसल रोज्नुहोला ।

१४. मानसिक तनाब न्यूनीकरण गर्ने योजना बनाउनुहोला । केहि समय हाम्रा ब्यबसाय चल्ने छैनन् वा कम चल्नेछन् । खाध्य, औषधि, स्टेसनरी, कृषि लगायतका ब्यबसाय चल्नेछन् । अन्य ब्यबसायमा महँगो भाडा, धेरै लगानी तथा धेरै खर्च भएमा त्यसलाई ब्यबस्थापन गर्नुहोला । आवश्यक परे पेशा परिवर्तन गर्ने यो उपयुक्त समय हो । कृषि, पशुपंक्षी पालन तथा बिबिध अर्गानिक खेती, होम डेलिभरी एबम अनलाइन बिजनेस अबका उत्कृष्ट पेशा हुनेछन् ।

१५. चुनौतीलाई स्वीकार्ने, चुनौतीलाई ब्यबस्थापन गर्ने तथा सानो उपलब्धिमा पनि सन्तोष मान्ने बानीको बिकास गर्नुको बिकल्प छैन । कोभिड पूर्वको अवस्थासंग तुलना गर्यो भने तनाब थप्ने काम हुन्छ । यो नयाँ युगलाई शुन्य मानेर काम गर्यौं भने तनाब हुनेछैन ।

१६. रोगसँग लड्ने क्षमता बढाउने उपाय गर्नुहोला । ताजा र पोषिलो खाना, खानामा मरमसला र जडिबुटीको प्रयोग, गुर्जो तुलसी बेसार, अश्वगन्धा मिश्रित चिया, प्रशस्त पानी, ब्यायाम, योग, ध्यान, संगीत, लेखन, पठन, प्रबचन श्रवण, तनाब न्यूनीकरण आदिबाट आफ्नो इम्युनिटी पावर बढाउन सकिन्छ ्र इम्युनिटी पावर बढेमा कोरोनामात्र हैन अन्य धेरै रोगबाट पनि बच्न सकिन्छ । सकारात्मक सोंच र आशाबादी गुण सुखी जीवनका अचुक औषधि हुन् ।

१७. कुनै व्यक्तिसंग प्रतिष्पर्धा, रीस, इर्श्या, मनमुटाव, नकारात्मक धारणा तथा बेइमानी कहिल्यै नगर्नुहोला । प्रत्येक व्यक्ति फरक क्षमताको हुन्छ । विनयशील, सहनशील, क्षमाशील तथा सत्यको बाटोमा हिंड्ने व्यक्ति निरोगी र दिर्घायु हुन्छ ।

१८. संक्रमित तथा मृतकको संख्या, उमेर, स्थान हेरेर चिन्तित हुने नगर्नुहोला । कोरोना आउनु पहिले सबै अस्पताल प्याक थिए, आइसीयु प्याक थिए, घाटहरु ब्यस्त थिए । जन्म, वृद्धि, क्षय ( रोग, बुढोपन ) र मृत्यु हामी सबैको जीवनमा थियो, छ र हुनेछ ।

१९. कोरोनाको कारण मात्र मृत्यु हुनेको संख्या अत्यन्तै कम छ । तसर्थ हामीले हाम्रा रोगहरु पत्ता लगाएर चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्नुपर्छ । आफै जान्ने भएर, बानी पर्छ भनेर वा आफैले कन्ट्रोल गर्छु भनेर जोखिमको धारमा बस्नुहुँदैन । औषधि सेवनले हाम्रा रिपोर्ट नर्मल राख्न सक्यौं भने कोरोना संक्रमणसंग डराउनु पर्दैन ।

२०. कोरोना संक्रमण भएमा मरिन्छ भन्ने जुन धारणा छ, त्यो गलत हो । ९० %कोरोना संक्रमितलाई आफै वा सामान्य उपचारले निको हुन्छ । १० % लाई अस्पताल बस्नुपर्ने हुनसक्छ । ती मध्ये ५ % लाई आइसीयु र भेन्टिलेटर चाहिन्छ । त्यसको आधा अर्थात २–३ % को मात्र निधन हुन्छ । हाम्रो देशको मृत्युदर अहिलेसम्म ०.५ % पनि छैन । यो तथ्य हामीले बिर्सिनु हुँदैन । (डा. पाण्डे जनस्वास्थ्य विज्ञ हुन् । )