कोरोनाको संक्रमणसँग लड्न उमेर अनुसार सुत्न आवश्यक छः डा. रवीन्द्र पाण्डे

कोरोनाको संक्रमणसँग लड्न उमेर अनुसार सुत्न आवश्यक छः डा. रवीन्द्र पाण्डे


काठमाण्डु – जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले कोरोना भाइरसको संक्रमणबाट लड्न इम्युनिटी पावर बढाउनुपर्ने बताएका छन् ।

उनले कोरोना भाइरसको संक्रमणसँग लड्नका लागि निद्राको भूमिका हुने भएकाले इम्युनिटी पावर बढाउन पर्याप्त सुत्न आवश्यक रहेको बताएका छन् । डा. पाण्डेले राम्रोसंग निद्रा परेको समयमा स्वस्थ महसुस हुने र पूर्वीय दर्शनमासमेत निद्रालाई आहार जत्तिकै महत्व दिइएको उल्लेख गरेका छन् ।

‘कोरोना संक्रमण लगायतका रोगहरुसंग लड्नको लागि निद्राको ठूलो भूमिका छ । रातिको समयमा पर्याप्त सुत्ने व्यक्तिको इम्युनिटी पावर राम्रो हुन्छ । हामी सबैले अनुभव गरेका छौं कि निद्रा नपुगेका दिनमा हामी दिनभर ताजगी अनुभव गर्न सक्दैनौं’, उनले भनेका छन्, ‘हाम्रो जोश, जाँगर, उमंग तथा उत्साह मुर्झाएको हामीले अनुभव गर्दछौं । त्यस्तै राम्रोसंग निद्रा परेको समयमा हामी आफुलाई निकै स्वस्थ अनुभव गर्दछौं । हाम्रो पूर्वीय दर्शनमा निद्रालाई आहार जत्तिकै महत्व दिइएको छ ।’

त्यस्तै उनले रातको समयमा ७ देखि ९ घण्टा सुते मेलाटोनिन नामक हर्मोनको उत्पादन राम्रो हुने बताएका छन् ।

‘मेलाटोनिन नामक हर्मोनको उत्पादन राम्रो हुँदा हामी खुसी हुन्छौं साथै रोगसँग लड्ने क्षमता वृद्धि हुन्छ’, उनले भनेका छन् ।

डा. पाण्डेले उमेर अनुसार सुत्न आवश्यक रहेको बताएका छन् । उनले १४ देखि २५ बर्षको उमेरका व्यक्तिलाई ८/१० घण्टा सुत्न आवश्यक रहेको बताएका छन् । त्यस्तै २६ देखि ६४ बर्षको व्यक्तिले ७/९ घण्टा र ६५ वर्ष तथा सो भन्दा धेरै उमेरका व्यक्तिलाई ७/८ घन्टा सुत्नुपर्ने बताएका छन् ।