काठमाण्डु- उनी चमत्कार गर्न सक्ने दाबी गर्छिन् र उनका भक्तहरू उनी देवी नै भएको विश्वास गर्छन् । अर्थात् राधे माँ, जो भारतमा विवादास्पद धर्म गुरु हुन् ।
बढ्दो माताजी र बाबाहरूको जमातमा रहेकी केही महिलामध्ये एक हुन् उनी र उनका अनुयायीहरूको संख्या ठुलो छ । राधे माँलाई अन्य साधुसन्त जस्तो बिहान सबेरै प्रवचन दिन मन पर्दैन तर उनी स्वयंलाई चमत्कारी माता भन्छिन् ।
दिव्य शक्तिको दाबी राधे माँमा मात्र सीमित छैन । भारतमा तथाकथित साधुसन्तहरूको भिड छ । तिनको संख्या कति छ भन्ने कसैले गणना नगरेको भए पनि त्यो हरेक वर्ष बढ्दै गएको जस्तो देखिन्छ ।
ती मध्ये केहीविरुद्ध नराम्रो काम गरेको, भ्रष्टाचार गरेको र यौन हिंसा गरेको समेत आरोप लागेको छ । राधे माँमाथि पनि कालो जादु गरेको र गैरकानुनी रहेको दाइजो उपलब्ध गराउन सहयोग गरेको आरोप पनि लागेको छ । तर प्रहरीको अनुसन्धानपछि ती सबै मुद्दा अदालतले खारेज गरेको छ । तर हजारौँ भक्तजनहरू अझ पनि यस्ता बाबा र माताको दर्शन गर्न आउने गर्छन् ।
अखिल भारतीय अन्धविश्वास निर्मूल समितिका प्रमुख रहेका प्रोफेसर श्याम मानव भन्छन् , ‘ज्यादा जसो भारतीय परिवारको विश्वास हुन्छ कि यस्ता दैवी शक्ति वा सिद्धि प्रार्थना, ध्यान र पूजाबाट प्राप्त गर्न सकिन्छ र त्यस्ता शक्ति प्राप्त व्यक्तिले चमत्कार गर्न सक्छन् ।’
भारतमा यस्ता सिद्धि प्राप्त व्यक्तिलाई मानिसहरू बाबा या माता मान्छन् ।
को हुन् राधे माँ ?
गरिब या अनपढ मानिसहरू यस्ता सोचबाट ज्यादा प्रभावित हुन्छन् भन्ने आम धारणा हुने गर्छ । तर राधे माँका कैयौँ भक्त धनी, पढे लेखेका र व्यापारिक घरानाका छन् ।
ती मध्ये एक हुन पुष्पिन्दर भाटिया, जो अक्सफर्ड युनिभर्सिटीको सैद बिजनेस स्कूलमा पढेका हुन् । उनले एजुकेशन कन्सलटेन्सी चलाउँछन् । उनी भन्छन्, ‘दैवी शक्तियुक्त मानव रूपको अनुयायी हुँ ।’ ‘राधे माँले यस्तो आशीर्वाद दिन्छिन् कि त्यसले तपाईँको जीवनै बदलिन्छ’, उनी भन्छन् ।
राधे माँको दर्शनका लागि भक्तहरू लालायित रहन्छन् । दिल्लीस्थित उनको घरमा ठूला व्यापारी र सरकारी अधिकारीहरू पनि पुग्छन् ।
राधे माँलाई मन पर्ने रातो र सुनौलो रङमा सजाइएको कोठामा सबै कुरा उनको आँखाको इशारामा भइरहेको जस्तो लाग्छ ।
राधे माँ पन्जाबको गुरुदासपुर जिल्लाको एउटा सानो गाउँको मध्यम–वर्गीय परिवारमा जन्मिइन् । उनका आमा बाबाले उनको नाम सुखविन्दर कौर राखे ।
उनले गुरुबाट पाएको मन्त्रको बलमा दैवी शक्ति प्राप्त गरेको दाबी गरिन् ।
जिन्दर कौरले अहिले राधे माँको नाममा बनेको एक कोठे मन्दिर व्यवस्थापन गर्छिन् जुन सुखविन्दरका पति मोहन सिंहले विदेशमा कमाइ गरेर बनाइदिएका थिए ।
२० वर्षको उमेरमा उनको बिहे मोहन सिंहसँग भयो र उनी मुकेरियाँ सहरमा बस्न थालिन् । उनका पति कमाउनका लागि विदेश गए ।
जब राधे माँका पति विदेशमा थिए उनी आफ्ना दुवै छोरालाई आफ्नी बहिनीसँग छोडेर आफू भक्तहरूको घरमा बस्न थालिन् । उनका ज्यादा जसो भक्त व्यापारी थिए ।
एक सहरदेखि दोस्रो सहर हुँदै उनी भारतको व्यापारिक राजधानी मुम्बई पुगिन् । त्यहाँ उनी एक दशकभन्दा बढी एक व्यापारी परिवारसँग बसिन् । र अन्ततः आफ्नो परिवारमा फर्किइन् ।
जस जसको घरमा राधे माँ बसिन् उनीहरू ठान्छन् देवी माँको चरण परेका कारण उनीहरूको घरमा समृद्धि आयो । उनीहरू अहिले सबभन्दा ठूला भक्त हुन् उनका ।
राधे माँको दुनियाँ अनौठो छ । यसमा दिव्यताको साथमा सांसारिक चिजबिज र नाता सम्बन्धको जालो पनि छ ।
उनी आफ्ना व्यापारी छोराहरूले बनाएको ठूलो महलमा बस्छिन् । छोराहरूको बिहे ठूला व्यापारिक घरानासँग भएको छ । बाँकी परिवारबाट अलगै राधे माँ हवेलीको एक अलग तलामा बस्छिन् । कसैलाई दर्शन दिन परेमा वा कुनै सार्वजनिक कार्यक्रममा भाग लिन हवाई जहाजबाट दोस्रो सहर जान परे मात्र उनी घरबाट बाहिर निस्कन्छिन् ।
राधे माँका सबै सार्वजनिक कार्यक्रम उनकी ठूली बुहारी मेघा सिंह व्यवस्थापन गर्छिन् । राधे माँ को नाममा आउने दानको हिसाब–किताब उनको परिवारका मानिस र नजिकका भक्तहरूले राख्छन् ।
तर राधे माँलाई तडक–भडक वाला कपडा र गहना मन पर्छ । राधे माँले भन्छिन्, ‘म राम्रा कपडा र रातो लिपस्टिक लगाउन मन पराउँछु जुन हरेक विवाहित महिलाले गर्नुपर्छ । मलाई मेक अप गर्न भने मन पर्दैन ।’ तर उनी प्रायः मेकअपमा नै भेटिन्छिन् ।
श्री राधे माँ च्यारिटेबल सोसाइटीले हरेक महिना करीब पाँच सय महिलालाई एकदेखि दुई हजार रुपैयाँ पेन्सन दिने गर्छ । यस्तो पेन्सन पाउने ज्यादाजसो विधवा या एकल महिला छन् ।
पेन्सन पाउने गरेका यी भक्तहरूले चमत्कारका कैयौँ कथा सुनाउँछन् । तर उनीहरूमा भयको मात्रा पनि रहेको छ ।भक्तहरूमा देवी माँको आशीर्वाद हराउँला भन्ने त्रास छ ।
एक भक्त महिलाले कुनै चमत्कार आफ्नो आँखाले नदेखेको बताइन् । मेकअप गर्दैमा र महँगो कपडा पहिरिँदैमा कोही व्यक्ति भगवान् नबन्ने उनी भिनछन् ।
अन्धविश्वास भनौँ वा आस्था, राधे माँलाई यकिन छः उनका भक्त उनको पक्षमा रहने छन् । जसलाई उनको चमत्कारमाथि यकिन छैन या उनलाई ढोँगी मान्छन् राधे माँलाई त्यसको कुनै फिक्री छैन ।
प्रतिक्रिया