काठमाण्डु – लोकसभा चुनावमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) लाई एकल बहुमतबाट रोक्न सफल भएपछि उत्साहित भारतीय कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धी धर्मसंकटमा परेका छन् ।
लोकसभा चुनावमा उनी उत्तर प्रदेशको रायबरेली र केरलको वायनाड क्षेत्रबाट विजयी भएका छन् । २ क्षेत्रबाट विजयी सांसदले मतपरिणाम घोषणा भएको १४ दिनभित्र कुनै १ क्षेत्र छाड्नुपर्ने बाध्यता छ ।
मतदातामा समर्थन जुटिरहेका बेला कुनै १ क्षेत्र रोज्दा अर्काे क्षेत्रका मतदाता असन्तुष्ट हुनसक्ने बताइन्छ । तैपनि उनले १८ जुन अर्थात् भोलि मंगलबारसम्म कुनै १ क्षेत्र रोजिसक्नुपर्छ ।
जनप्रतिनिधित्व अधिनियम १९५१ को धारा ६८(१) अनुसार २ सिट जितको स्थितिमा सम्बन्धित नेताले १४ दिनभित्र १ सिट छाडिसक्नुपर्छ । लोकसभा चुनावको नतिजा ४ जुनमा सार्वजनिक भएको थियो ।
उत्तर प्रदेश कांग्रेसका प्रभारी अविनाश पाण्डेयले राहुल गान्धीले रायबरेली रोज्ने दाबी गरेका छन् । उनी मतपरिणाम घोषणा भएपछि पहिलोपटक वायनाड पुगेका थिए । उनले भनेका थिए, ‘म दुवै क्षेत्रका कार्यकर्ता खुशी हुने गरी निर्णय लिन्छु ।’
राहुल रायबरेलीबाट ३ लाख ९० हजार र वायनाडबाट ३ लाख ६४ मतान्तरणले विजयी भएका छन् । रायबरेली गान्धी परिवारको पुर्ख्यौली निर्वाचन क्षेत्र हो । २०१९ मा राहुलकी आमा सोनिया गान्धी रायबरेलीबाट सांसद निर्वाचित भएकी थिइन् ।
प्रतिक्रिया