हप्ताभर मनसुनी वायुको प्रभाव, धानलाई असर पर्ने सम्भावना

हप्ताभर मनसुनी वायुको प्रभाव, धानलाई असर पर्ने सम्भावना


काठमाण्डु – जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हप्ताभर मनसुनी वायुको प्रभाव रहने जनाएको छ ।

आगामी बिहीबारसम्म देशको हिमाली, पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली तथा तराई क्षेत्रमा हप्ताको सुरुमा आंशिक बदलीदेखि मुख्यतया सफा, मध्य र अन्त्यमा आंशिक बदलीदेखि साधारणतया बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

‘हप्ताको मध्य र अन्त्यमा देशका तराई भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हप्ताको सुरूमा देशका हिमाली तथा पहाडी भूभागका १–२ स्थानमा, मध्य र अन्त्यमा केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हप्ताको अन्त्यमा कोशी, बागमती, गण्डकी, कर्णाली र सूदूरपश्चिम प्रदेशका पहाडी भूभागका १–२ स्थानमा वर्षाको सम्भावना रहेको छ,’ महाशाखाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘देशका अधिकांश स्थानमा हप्ताको अन्त्यमा तापक्रम घट्ने सम्भावना छ ।’

महाशाखाको मौसमविद् प्रतिमा मानन्धरले आगामी आईतबारसम्म मुलुकको विभिन्न स्थानमा हल्का, मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको र त्यसपछि सुधार हुँदै जाने बताइन् । कृषि तथा पशुपन्छी मन्त्रालयका सूचना अधिकृत महानन्द जोशीले सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, बर्दिया, बाँकेतिर धान पाकिसकेकाले यदि ठूलो वर्षा भएमा धानलाई क्षति पुग्न सक्ने बताए ।

‘त्यस क्षेत्रतिर जेठ मध्यबाट रोपाइँ सुरु हुन्छ, अब धान थन्काउने बेला भइसक्यो,’ उनले भने, ‘अहिलेको वर्षाले धान झर्ने, पाकेको बाली समयमा थन्काउन नपाएमा उत्पादन घट्ने समस्या हुनसक्छ ।’

उनले यस वर्ष मनसुन सुखद रहँदा धान उत्पादन ५–७ प्रतिशतसम्म बढ्न सक्ने बताइन् । ‘यो वर्ष ९९ प्रतिशत हाराहारीमा रोपाइँ भएको छ, यस कारण उत्पादन करीब डेढ लाख मेट्रिक टनसम्म हुने अपेक्षा छ,’ उनले भने, ‘तर धान भित्र्याउने बेलामा मौसमले साथ दिनुपर्छ ।’

कृषि मन्त्रालयको तथ्यांकअनुसार गत आर्थिक वर्षमा धानको कूल उत्पादन अघिल्लो आर्थिक वर्षभन्दा ४ दशमलव ३३ प्रतिशतले वृद्धि भई ५७ लाख २४ हजार २३४ मेट्रिक टन पुगेको थियो । जुन विगत ४ वर्षको औसत उत्पादनको तुलनामा ५ दशमलव ०८ प्रतिशतले बढी हो ।