कहाँ कति वर्षा भयो ? यी नदीहरूमा खतराको तह पार

कहाँ कति वर्षा भयो ? यी नदीहरूमा खतराको तह पार


काठमाण्डु-पछिल्लो २४ घण्टामा देशैभर भीषण वर्षा भएको छ । जल तथा मौसम विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार देशका ९८ स्थानमा धेरै वर्षा भएको छ ।

पाल्पाको कुमाल गाउँ स्टेसनमा पछिल्लो २४ घण्टामा २१६ मिलिमिटर वर्षा मापन भएको छ भने तनहुँको विमलनगर स्टेसनमा २५३ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

५० मिलिमिटरभन्दा माथि भए भारी वर्षा, १०० मिलिमिटरमाथिको वर्षालाई धेरै भारी वर्षा र २०० मिलिमिटरमाथिको वर्षालाई अति धेरै भारी वर्षाको सूचीमा राख्ने गरिन्छ ।

नदीहरूमा जोखिम

यता, शुक्रबारदेखि भइरहेको अविरल वर्षाका कारण विभिन्न १३ स्थानमा नदीहरूले खतराको तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार केही नदीहरूमा अझै पानीको बहाव बढ्दो अवस्थामा छ ।

चितवनको देवघाटमा नारायणी नदीको जलसतह खतराको तह पार गरेको छ । यहाँ पानीको बहाव अझै बढ्दो क्रममा छ ।

त्यस्तै, काठमाडौँको बलकुमारीमा मनोहरा, भक्तपुरको जागती र कौशलटारमामा हनुमन्ते खोला तथा ललितपुरको झरुवासीमा खोड्कु खोला र खोकनामा बागमतीको जलसतह खतराको तह पार गरेको छ ।

यसैगरी, रौतहट, बारा, धनकुटा, सिन्धुली, भोजपुर, धनकुटा र सुनसरीमा पनि विभिन्न नदी तथा खोलाको जलसतहले खतराको तह पार गरिसकेको छ ।