‘राजागंज’को ट्रेलर सार्वजनिक

‘राजागंज’को ट्रेलर सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- निर्देशक तथा लेखक दीपक रौनियार निर्देशित ‘राजागंज’ को ट्रेलर सार्वजनिक गरिएको छ । ३ मिनेट लामो सार्वजनिक ट्रेलरले २०७२ सालमा संविधान जारी भएपछि विरोधमा भएको मधेश आन्दोलनलाई केन्द्रमा राखेर कथा भनिएको छ ।

मधेशमा आन्दोलन चर्किरहँदा अपहरणमा परेका सभासद् र स्कूलकी प्रधानाध्यापकका छोरालाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेसनलाई ट्रेलरमा देखाइएको छ । आन्दोलनका बीच प्रहरीले दुई बालकलाई खोज्न अपनाएको रणनीति र आइपर्ने समस्या ट्रेलरले देखाउँछ । प्रहरी इन्सपेक्टरको भूमिकामा रहेकी अभिनेत्री आशा मगराती र अभिनेता दयाहाङ राईको टसल पनि ट्रेलरमा हेर्न पाइन्छ ।

सिनेमाको ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक रौनियारले ‘राजागंज’ आफ्नो करिअरकै ठुलो सिनेमा रहेको बताए । उनले भने, ‘मैले यसअघि यति ठूलो सिनेमा निर्माण गरेको थिइनँ । कलाकारसहित सिनेमामा एक हजार बढी मानिस संलग्न थिए ।’

सिनेमालाई सन् २०१५ को परिवेशमा निर्माण गरिएको पनि निर्देशक रौनियारले बताए । अन्तर्राष्ट्रिय महोत्सवहरूमा सिनेमा प्रशंसा पाएकाले नेपाली दर्शकलाई पनि मनपर्ने विश्वास उनको छ ।

आउँदो चैत १ गतेबाट प्रदर्शन हुने सिनेमामा आशा र दयाहाङसहित विजय बराल, ऋचा शर्मा, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डक, गौमाया गुरुङ, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठ लगायतको अभिनय छ ।

सिनेमाले भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बई जस्ता विश्वका ठुला सिनेमा महोत्सवमा आफ्नो प्रभाव जमाइसकेको छ । यो सिनेमा गत कात्तिक एकै महिनामा ५ फेस्टिभलमा स्क्रिनिङ भएको थियो । सिनेमाले भेनिसमा १० मिनेटको स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको थियो ।

प्रतिष्ठित अमेरिकी अखबार ‘द न्युयोर्क टाइम्स’ ले निर्देशक रौनियारलाई संसारका नौ उदीयमान निर्देशकको सूचीमा समावेश गरेको थियो । ब्राजिलियन लेखक पाओलो कोहेलोले सार्वजनिक रूपमै रौनियारको प्रशंसा गरेका थिए ।

सिनेमाको निर्माणमा आदि फिल्मस्का तर्फबाट निर्देशक रौनियार र अभिनेत्री मगराती, बासुरी फिल्मस्का तर्फबाट रामबाबु गुरुङ र मनिराम पोखरेल, अभिनेता दयाहाङ राई तथा तन्हाउसर गेटका तर्फबाट एलन आर मिलिगनले सहकार्य गरेका छन्। यो सिनेमालाई नेपालमा टिफल्क र ब्यांकटेश इन्टरटेनमेन्टले संयुक्त रूपमा रिलिज गर्ने भएका छन् ।