काठमाण्डु- एक महिने पोखरा बसाइ पछि पूर्वराजा फागुन २५ मा काठमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनः स्थापित गर्ने भन्दै राजावादीहरूले सडक तताएका छन् ।
उता, जसरी भएपनि राजा फर्काउने मिशन पूरा हुन नदिने भन्दै गणतन्त्रवादीहरूले कस्सिएर लागेका छन् । उनीहरू गणतन्त्रको पक्षमा शक्ति प्रदर्शन गर्ने तयारी पनि गरेका छन् ।
राजसंस्था पुनर्बहालीको पक्षमा अहिले देखिएको माहोल राजावादीहरूकै बीचमा विभाजित भएको छ ।
राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज सुवेदीको नेतृत्वमा राजसंस्था पुनर्बहालीको लागि भन्दै आन्दोलन समिति बनेको छ । समितिमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेन, पार्टीका अन्य नेताहरूसहित राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा पनि छन् ।
तर यो समिति नबन्दै विवादित बनेको छ भने समितिमा रहने विषयमा राप्रपा भित्र ठुलो मतभेद पनि देखिएको छ ।
महामन्त्री धवल शमशेर जबराले राजसंस्था पुनस्र्थापनाको पक्षमा पार्टीले छुटै आन्दोलन गरेको खण्डमा आफू नवराज सुवेदीको पक्षमा उभिने बताए पछि पार्टीमा मतभेद देखिएको हो ।
अध्यक्ष लिङ्देनले आफ्नै नेतृत्वमा राजसंस्था फर्काउने आन्दोलन अघि बढाउने निर्णय गरेका छन् । तर यसविपरीत महामन्त्री राणाले सुवेदी नेतृत्वकै समितिमा सक्रिय रहने घोषणा गरेका हुन् ।
सुवेदी नेतृत्वको समिति अन्तर्गत गठित आन्दोलन परिचालन समितिका संयोजक राणा हुन् ।
शुक्रबार समितिको बैठक पछि राणााले जारी गरेको विज्ञप्तिमा आन्दोलन परिचालन समिति र मातहत विभिन्न विभाग तथा समितिमा रहेर एकताबद्ध भई सहकार्य गर्न राष्ट्रवादी देशभक्त नागरिक, अभियान र राजनीतिक दलहरूलाई बैठकले अपिल गरेको उल्लेख छ ।
‘सुवेदीजीको नेतृत्वमा एउटा छाता बनेको छ, त्यही छाताअन्तर्गत यो सबै भइरहेको छ । हामी सबै पार्टीहरू, दुर्गा प्रसाईंजीहरू, शाही शक्ति, सबै अभियन्ता र पार्टीहरू मिलेर अघि बढ्ने हो’, राणा भन्छन् ।
राजावादी आन्दोलनका कारण अहिले राप्रपामा दुई खेमा स्पष्ट देखिएका छन् । अध्यक्ष लिङ्देनले आफूले नै आन्दोलनको नेतृत्व गर्ने बताइरहँदा महामन्त्री राणाले सुवेदीको समितिलाई महत्व दिएपछि पार्टी भित्र दुई धार देखिएको हो ।
राणासँग वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र पनि छन् । यो विवाद साम्य हुनेभन्दा झन् बढ्दै गएको छ ।
पार्टी भित्रको विवाद सतहमा आएपछि राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले नेताहरूलाई एकजुट हुन सुझाव दिएका छन् ।
शनिबार सामाजिक सञ्जाल फेसबुकमा अध्यक्ष लिङ्देन, महामन्त्री राणा र बरिष्ठ उपाध्यक्ष मिश्रलाई ट्याग गर्दै कवितात्मक शैलीमा उनले अहिले जुट्ने समय भएको भन्दै ‘जुँगाको लडाइँ’ छोड्न आग्रह गरेका हुन् ।

प्रतिक्रिया