बीआरआईले प्रचण्ड नेतृत्वको क्याबिनेटमा विवाद भयो, खेलाँचीका रूपमा नलिऊँ : नेता भट्टराई

बीआरआईले प्रचण्ड नेतृत्वको क्याबिनेटमा विवाद भयो, खेलाँचीका रूपमा नलिऊँ : नेता भट्टराई


काठमाण्डु – सत्तारुढ दल नेकपा एमालेका नेता राजन भट्टराईले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयनमा आनाकानी गर्न नहुने बताएका छन् ।

आज नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बीआरआईबारे काठमाण्डुमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा उनले नेपालले सम्झौता गरिसकेकाले पछाडि हट्न नसकिने बताए ।

एमालेको विदेश विभाग प्रमुख समेत रहेका भट्टराईले भने, ‘बीआरआईमा हामीले सम्झौता गरिसकेका छौं । सहमति भइसकेको विषयमा अब म काम गर्दिनँ भन्न मिल्छ ? नजिकको छिमेकी, राइजिङ पावर । त्यो अवस्थामा हामी सहमति गरिसकेको कुराबाट पछाडि हट्न हामी कदापी सक्दैनौं ।’

बीआरआईमा ७ वर्षअघि सम्झौता भएको र अहिले त्यसको कार्यान्वयनबारे चीनले सम्झौता गर्न प्रस्ताव गरेको भन्दै उनले भने, ‘बीआरआईमा पहिले सम्झौता भयो । त्यसपछि फ्रेमवर्क सम्झौता भएको छ । अब कार्यान्वयन योजनामा जाऊँ भनेर चीनले प्रस्ताव गरिरहेको छ । हामीले त्यसमा आनाकानी गरिरहेको मैले पाएको छु ।’

बीआरआईलाई अगाडि बढाउन खोज्दा प्रचण्ड नेतृत्वको सरकारको क्याबिनेट बैठकमा विवाद भएको जानकारी आफूले पाएको भन्दै भट्टराईले बीआरआईलाई खेलाँचीका रूपमा नलिन आग्रह गरेका छन् । ‘अघिल्लो सरकार (प्रचण्ड नेतृत्वको सरकार) ले त्यसलाई अघि बढाउन खोज्दा क्याबिनेटभित्र नै विवाद भएर अगाडि बढ्न सकेन भन्ने कुरा हामीले सुनेका छौं,’ उनले भने, ‘बीआरआईलाई हामीले त्यस्तो खेलाँचीका रूपमा नलिऊँ ।’