काठमाडौं – राप्रपा नेपाल र राप्रपा संयुक्तबीचको पार्टी एकता प्रक्रिया अन्यौलमा परेको छ । चाँडै एकता प्रक्रिया टुंग्याउने गरी छलफलमा जुटेका दुई दलबीच चुनाव चिन्हका विषयमा कुरा नमिल्दा एकता प्रक्रिया नै अन्यौलमा परेको हो ।
बिहीबार दुई पार्टीका शीर्ष नेता कमल थापा, पशुपति शमशेर राणा, डा।प्रकाशचन्द्र लोहनीबीचको छलफलमा चाँडै पार्टी एकता गर्ने गरी समझदारी भएको थियो ।
शीर्ष तीन नेताबीचको छलफलमा एकतापछि थापा नेतृत्वको राप्रपालाई ५५ प्रतिशत र राप्रपा संयुक्तलाई ४५ प्रतिशत हुने गरी भागबन्डा मिलाउने सहमति भएको थियो । पार्टी अध्यक्ष तिन जना रहने सहमति समेत भएको थियो । जसअनुसर पशुपतिशमशेर जवरा, डा प्रकाशचन्द्र लोहनी र कमल थापा रहने सहमति भएको थियो ।
त्यस्तै तीन नेताले पार्टी एकतापछि चाँडै महाधिवेशनको मिति घोषणा गर्ने, समझदारी भएको थियो भने चुनाव चिन्हको विषयमा तिन अध्यक्षले उपयुक्त समयमा निर्णय लिने वा तिन महिना भित्र कार्यसम्पादन समितिको बैठकबाट निर्णय लिने सहमति भएको थियो ।
बिहीबारको समझदारी पश्चात शुक्रबार भएको छलफलमा राप्रपाका अध्यक्ष कमल थापाले पूर्वसर्तहरु मान्न नसकिने बताउँदै गार्इ चिन्ह छोडन नसकिने बताएपछि एकता प्रक्रिया अन्योलमा परेको हो ।
‘एकता प्रक्रियासहितका विषयमा जारी राप्रपाको केन्द्रीय समितिको बैठक स्थगन गरेर अध्यक्ष थापा ले पशुपति शमशेर राणा र डा प्रकाशचन्द्र लोहनी लाइ चुनाव चिन्ह को वारेमा आफ्नो अडान स्पस्ट पार्नु भयको थियो। बसाई पिच्छे नै थापाले नयाँ सर्त राख्दा एकता प्रक्रिया अन्यौल बन्दै गएको छ ’, राप्रपा संयुक्तका प्रवक्ता जनक राज पाठकले भने, ‘हामी हदैसम्म लचक भएर पार्टी एकता गर्ने पक्षमा छौं । , बिहीबार ३ अध्यक्षबीच भएको समझदारीबाट पछि हटेर एकता हुँदैन । हरेक बसाईमा नयाँ सर्तले एकता सम्भव छैन् ।’
उनले एकताका लागि एक पक्षमात्र लचक भएर नहुने भन्दै एकताका लागि भएका वार्ताका समझदारीलाई पालना गर्न दुवै पक्ष गम्भिर हुनुपर्ने बताए ।
यता राप्रपा संयुक्तका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले भने एकता प्रक्रिया टुंगोमा पुग्न बाँकी रहेको र छलफल जारी रहेको बताए ।
‘हामीले पार्टी एकताको कुरालाई निरन्तर रुपमा अघि बढाइरहेका छौं । धेरै कुरा मिलेका छन् । मिल्न बाँकी विषय पनि छ । यी विषयमा निरन्तर सम्वाद आवश्यक छ,’ अध्यक्ष डा. लोहनीले भने, ‘केहि उत्तारचढाव पनि आएका छन् । हामी सल्टाउने प्रयास गर्दैछौं । सबै राष्ट्रवादीहरुको एकता आजको आवश्यकता हो । म सबै राष्ट्रवादीहरुलाई एकतावद्ध गराएर अगाडि बढाउनसमेत प्रयासरत रहेको र हामी चाँडै नै निष्कर्षमा पुग्नेछौं ।’
प्रतिक्रिया