सरकारी भवनमा राजपाको कार्यालय

सरकारी भवनमा राजपाको कार्यालय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – निर्वाचन आयोगमा दर्ता भएको र संसदमा २५ जना सांसदले प्रतिनिधित्व गर्ने राजनीतिक दलको केन्द्रीय कार्यालय सरकारी भवनबाट सञ्चालित भएको कुरा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, गत बैशाख ७ गते ६ वटा मधेश केन्द्रीत राजनीतिक दल मिलेर गठन भएको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको कार्यालय भने सरकारी भवनबाटै सञ्चालित हुँदै आएको छ ।

 

तत्कालिन प्रधानमन्त्री डा. बाबुुराम भट्टराई नेतृत्वको सरकारले २०६८ सालमा बन विभागस्थित बबरमहलको जग्गा प्रमुख निजामति कर्मचारी संगठनलाई दिने निर्णय अनुसार मधेश केन्द्रीत दल निकट नेपाल मधेशी निजामति कर्मचारी मञ्च र नेपाली कांग्रेस निकट नेपाल निजामति कर्मचारी यूनियनलाई एक-एक रोपनी जग्गा उपलब्ध गराएको थियो ।

 

 

सरकारले उपलब्ध गराएको एक रोपनी जग्गामा कर्मचारी यूनियनले दुइ तले भवन बनाइ सकेको छ भने कर्मचारी मञ्चले साढे चार तले भवन बनाएको छ । सो भवनको उद्घाटन गत बर्ष २०७३ साल बैशाख २६ गते आइतबार तत्कालिन तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष र मञ्चका केन्द्रीय अध्यक्ष बिनोद कुमार सिंहले उद्घाटन गरेका थिए ।

 

साढे चार तलामध्ये चार तलाको प्रयोग राजपाले  गरेको छ भने सवैभन्दा माथिल्लो तलामा मञ्चका अध्यक्ष सिंहले एउटा मात्र कोठा प्रयोग गरेका छन् । राजपाले सो भवनको चार तला प्रयोग गरेबापत मञ्चले मासिक एक लाख बढी भाडा लिने गरेको पार्टी महासचिव केशव झाले बताए ।

 

सरकारी कर्मचारीहरुको एउटा संगठनलाई सरकारले दिएको सरकारी भवन भाडा दिन मिल्दैन तर मञ्चले व्यापार र व्यवसाय झैं सरकारी जग्गामा निर्माण भएको भवन पार्टीलाई भाडामा दिनु उचित नभएको मञ्चका एक सदस्य बताउँछन् । राजपाले भने मञ्चलाई बुझाउनु पर्ने भाडा बापतको रकम पहिलो पटक नबुझाएर भवन वरपरको पर्खाल लगाउनमा खर्च  गरेको छ ।