राष्ट्रिय सभामा कांग्रेस–एमालेको बहुमत पुगेपछि संविधान संशोधन हुन्छ : प्रमुख गौतम

राष्ट्रिय सभामा कांग्रेस–एमालेको बहुमत पुगेपछि संविधान संशोधन हुन्छ : प्रमुख गौतम


सिन्धुली – नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले राष्ट्रिय सभामा कांग्रेस–एमालेको बहुमत पुगेपछि संविधान संशोधन हुने बताएका छन् ।

बिहीबार सिन्धुलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले संविधान संशोधनको बहस चले पनि गठबन्धन सरकारको दुवै सदनमा बहुमत पुगेपछि मात्र प्रक्रिया अघि बढ्ने बताए ।

उनले भने, ‘संविधान संशोधनमा दुवै सदनमा बहुमत चाहिन्छ, त्यसका लागि केही समय कुर्नुको विकल्प छैन । राष्ट्रिय सभामा हाम्रो बहुमत पुगेपछि संविधान संशोधन हुन्छ ।’

उनले नेकपा माओवादी केन्द्र समेतको सहमतिमा संविधान संशोधन हुने बताए । उनले भने, ‘संविधान संशोधनको विषय एमाले वा कांग्रेसको मात्र चाहेर सम्भावना छैन । यसका लागि सबैको साझा धारणा चाहिन्छ । नेकपा माओवादी केन्द्रले उठाएको प्रत्यक्ष निर्वाचित कार्यकारीको विषयमा समेत बहस गरेर साझा धारणा बनाएर सबैको साझा सहमतिका आधारमा संविधान संशोधन गरिन्छ ।’

अहिलेको निर्वाचन प्रणालीमा कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन नसक्ने भन्दै उनले स्थायी सरकार निर्माणका लागि पनि संविधान संशोधनमार्फत निर्वाचन प्रणालीलाई सुधार ल्याउनुपर्ने आवश्यकता औंल्याए । संकटको अवस्थामा पुगेको अर्थतन्त्रलाई लयमा ल्याउने, सुशासन, डेलिभरी, रोजगारी र अवसरको न्यायोचित वितरणमा स्थायी सरकारको रूपमा वर्तमान गठबन्धनको सरकार लागि परेकाले गठबन्धन आगामी २०८४ सालको निर्वाचनसम्म टिक्ने उनले बताए ।