काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले देशको आर्थिक, राजनीतिक र सामाजिक अवस्था अहिलेसम्मकै खराब अवस्थामा पुगेको बताउँदै खबरदारी गर्नुपर्ने बताएका छन् ।
शनिबार मधेश प्रदेशको जनकपुरमा आयोजित जागरण अभियानलाई सम्बोधन गर्दै उनले देशको अर्थतन्त्र नाजुक बन्दै गएको र सरकारलाई तलब–भत्ता दिन समेत वैदेशिक ऋण लिनुपर्ने अवस्था आएको बताए ।
संघीयता कार्यान्वयन हुनुअघि ६ खर्ब १५ अर्ब रुपैयाँ रहेको राष्ट्रिय ऋण १ दशकमा २६ खर्ब ७६ अर्ब पुगेको उनले बताए ।
‘देशको स्थिति हाम्रो समयकै सबैभन्दा खराब छ । अहिले सरकारको आम्दानीले कर्मचारी र नेताहरूलाई तलब–भत्ता दिन समेत पुग्दैन,’ उनले भने, ‘हरेक महिना राज्यलाई ऋण लिनुपर्ने अवस्था छ । यस्तो स्थितिमा अर्थतन्त्र राम्रो रहेको दाबी गर्नु नै गलत हो ।’
संघीयता लागू भएपछि सरकारी खर्च अस्वाभाविक रूपमा बढेको भन्दै उनले आर्थिक अस्थिरता अझै गहिरिँदै गएको दाबी गरे । उनले भने, ‘संविधान जारी हुनुअघि २०७२/७३ मा हाम्रो राष्ट्रिय ऋण ६ खर्ब १५ अर्ब थियो, अहिले त्यो २६ खर्ब ७६ अर्ब पुगेको छ ।’
अध्यक्ष लिङ्देनले आर्थिक, राजनीतिक र सामाजिक क्षेत्रहरूमा देखिएको अस्थिरता र कुशासनकै कारण देश असफल राष्ट्रको दिशामा अघि बढिरहेको दाबी गरेका छन् । उनले भने, ‘हामीले समयमै खबरदारी गर्न सकेनौं भने मुलुक थप संकटमा फस्नेछ ।’
प्रतिक्रिया