राप्रपाले सामूहिक गिरफ्तारी दिन निषेधित क्षेत्रमा प्रदर्शन गर्ने, यी हुन् मागहरू

राप्रपाले सामूहिक गिरफ्तारी दिन निषेधित क्षेत्रमा प्रदर्शन गर्ने, यी हुन् मागहरू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टीले हिरासतमा रहेका नेता–कार्यकर्ताको रिहाइको माग गर्दै सामूहिक गिरफ्तारी दिन निषेधित क्षेत्रमा प्रदर्शन गर्ने भएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले चैत्र १५ गतेको आन्दोलनका क्रममा पक्राउ परेका आफ्ना नेता–कार्यकर्ताको रिहाइको माग गरेका छन् ।

राप्रपाका नेताहरू रविन्द्र मिश्र र धवलशम्शेर राणा लगायत प्रदर्शनका क्रममा पक्राउ परेकाहरूको तत्काल रिहाइ गर्न उनले सरकारसँग माग गरे । बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकको निर्णय सुनाउँदै उनले चैत्र १५ गतेको प्रदर्शनको क्रममा पक्राउ परेकाहरूको तत्काल रिहाइ गर्न सरकारसँग माग गर्ने र रिहाइका लागि कानूनी एवं राजनीतिक दुवै लडाइँलाई सशक्त रूपमा अगाडि लैजाने निर्णय गरेको जानकारी दिए ।

‘उपत्यका भित्रका सबै वडा तहसम्म सबै नेताहरू पुग्ने र संगठनलाई अझै बलियो बनाउने निर्णय पनि गरेका छौं । कार्यक्रमलाई आन्दोलन केन्द्रित बनाउने निर्णय भएको छ । पार्टीका नेताहरू रवीन्द्र मिश्र र धवल शमशेर राणा लगायत चैत्र १५ गतेको प्रदर्शनको क्रममा पक्राउ परेको निर्दोष मानिसलाई तत्काल रिहाइ गर्न सरकारसँग माग गर्ने र रिहाइका लागि कानूनी र राजनीतिक दुवै लडाइँलाई सशक्त रूपमा अगाडि लैजाने निर्णय गरेको छ,’ उनले भने ।

आन्दोलन र पार्टी संगठनलाई सँगसँगै लाने भन्दै उनले पूर्वघोषित मिति वैशाख ७ गते काठमाण्डुको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको बताए । उनले भने, ‘आन्दोलन र पार्टी संगठनलाई सँगसँगै लाने निर्णय गरेको छ । त्यस क्रममा पूर्वघोषित मिति बैशाख ७ गते काठमाण्डुको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको छ । वैशाख ९ गते ७७ वटै जिल्लामा विरोध सभा, धर्ना र प्रदर्शनको कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।’

राप्रपाका सबै आन्दोलनसँग सम्बन्धित कार्यक्रमलाई व्यवस्थित गर्न एउटा विशेष कमिटी समेत बनाउने निर्णय भएको उनले बताए ।