काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा लुटतन्त्र, निरंकुशता हावी भइरहेको भन्दै त्यसको अन्त्यको लागि राप्रपाबाहेक कुनै विकल्प नरहेको दाबी गरेका छन् ।
सोमबार राजावादी आन्दोलनको क्रममा पक्राउ परेकाहरूको रिहाइको माग गर्दै राप्रपा नेपालले आयोजना गरेको जनप्रदर्शनमा बोल्दै उनले अहिले सिंगो देशले राप्रपालाई आशाको नजरले हेरिराखेको भन्दै सबै प्रकारका आग्रह पूर्वाग्रह त्यागेर देशलाई निकास दिन एक ठाउँ बसेर अगाडि बढ्न राष्ट्रिय प्रजातन्त्र पार्टी सदैव तयार रहेको बताए ।
उनले भने, ‘अहिले प्रजातन्त्रको नाममा लोकतन्त्रको नाममा देशमा लुटतन्त्र, निरंकुशता हावी भइरहेको छ । त्यसको अन्त्यको लागि हामीबाहेक देशमा कोही विकल्प र शक्ति छैन । अहिले सिंगो देशले हामीलाई आशाको नजरले हेरिराखेको छ । त्यसकारण सबै देशभक्ति साथीलाई आग्रह गर्न चाहन्छु । सबै प्रकारका आग्रह पूर्वाग्रह त्यागेर देशलाई निकास दिन एक ठाउँ बसेर अगाडि बसौं । राष्ट्रिय प्रजातन्त्र पार्टी सदैव तयार छ ।’
अहिले भ्रष्टाचार, कुशासनले आज देश आक्रान्त भएको भन्दै सबैभन्दा अप्ठ्यारो अवस्थामा पुगेको उनले बताए । यस्तो अवस्थामा देशको अस्मिताको रक्षाका लागि देशका सबै देशभक्त र राष्ट्रवादी शक्तिहरू एकठाउँमा आउन आवश्यक रहेको उनको भनाइ छ ।
उनले भने, ‘देश हाम्रो समयकै सबैभन्दा अप्ठ्यारो अवस्थामा छ । भ्रष्टाचार कुशासनले आज देश आक्रान्त छ । त्यति मात्र होइन, हाम्रो भविष्यका सन्ततिको समेत भविष्य अन्यौल बनेको छ । यस्तो अवस्थामा देशको अस्मिताको रक्षाका लागि देशका सबै देशभक्त र राष्ट्रवादी शक्तिहरू एकठाउँमा आउन आवश्यक छ ।’
लोकतन्त्र, मानव अधिकारका कुरा गर्नेहरूले चैत्र १५ गते लोकतन्त्र र मानव अधिकारको खिल्ली उडाएको उनले बताए ।
प्रतिक्रिया