काठमाडौं– प्रधानसेनापति राजेन्द्र क्षत्री भारत भ्रमणमा जाने भएका छन्।
भारतीय सेनाध्यक्ष बीपीन रावतको निमन्त्रणामा क्षत्री बुधबार ६ दिने भ्रमणमा जाने नेपाली सेनाले विज्ञप्तिमार्फत जनाएको छ।
क्षत्रीको भारत भ्रमण चीन जानु अघि हुन लागेको हो।
प्रधानमन्त्री केपी शर्मा ओली असार ५ गते चीन भ्रमणमा गएर फर्किए लगत्तै क्षत्री त्यसतर्फ जाने कार्यक्रम रहेको छ। चीनमा ‘सगरमाथा फ्रेन्डसिप’ को दोस्रो संस्करण नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच हुनेछ।
त्यसअघि भारत भ्रमणको क्रममा क्षत्री देहरादुनस्थित भारतीय सेनाको ‘इन्डियन मिलेट्री एकेडेमीमा सञ्चालित अधिकृत आधार तालिमको आयुक्त पद प्रदान कवाजको आतिथ्यता ग्रहण गर्नेछन्। देहरादुनमा जेठ २६ गते कार्यक्रम छ।
उच्च तहको सैनिक नेतृत्वको भ्रमणले नेपाली सेना र भारतीय सेनाबीच रहँदै आएको आपसी सम्बन्ध अझ सौहार्दपूर्ण हुनुको साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई सुमधुर एवम् प्रगाढ बनाउन थप मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको जनाएको छ।
क्षत्रीको भारत भ्रमणको क्रममा बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नेछन्।
क्षत्री जेठ २८ गते मात्र स्वदेश फर्किनेछन्।
प्रतिक्रिया