लिङ्देनले संसदमा अर्थमन्त्री पुन खोजेपछि बैठक स्थगित

लिङ्देनले संसदमा अर्थमन्त्री पुन खोजेपछि बैठक स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभामा बजेटमाथि धारणा राख्दा अर्थमन्त्री वर्षमान पुन उपस्थित हुनुपर्ने अडान राखेपछि बैठक स्थगित भएको छ ।

बोल्न रोष्ट्रममा गएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने संसदमा अर्थमन्त्री पुनलाई नदेखेको भन्दै खोजी गरे ।

उपसभामुख इन्दिरा रानाले अर्थमन्त्री राष्ट्रियसभा बैठकमा गएको र सरकारका प्रतिनिधिका रुपमा खानेपानी मन्त्री राजेन्द्रकुमार राई रहेको बताउँदै भनिन्, ‘अर्थमन्त्री नै चाहिन्छ नि, सभामुख महोदय एकछिन ब्रेक गरौं, अर्थमन्त्री खाली भएपछि सुरु गरौं ।’

उपसभामुख रानाले माननीयज्यू अगाडि बढौं, अर्थमन्त्री आउँदै हुनुहुन्छ भनिन् ।

लिङ्देनले आफूले पाएको थोरै समय अर्थमन्त्री नआउँदै सकिए के गर्ने भन्दै अर्थमन्त्री आएपछि समय गणना सुरु हुने भए मात्र बोल्ने बताए ।

तर उपसभामुख रानाले बैठक स्थगित नगर्ने भनिन् । ‘ब्रेक चाहिँ नगरौं होला, अगाडि बढ्दै गर्नुहोला । अर्थसम्बन्धी टुक्का भन्दै जानुहोला, कोटेसनहरु भन्दै जानुहोला ।’

त्यतिबेलै एमाले सांसद दयालबहादुर शाहीले नियमापत्ती गरे । उनले बोल्न गएपछि सरासर बोल्नुपर्छ, दोहोरी खेल्नुहुँदैन भनेपछि राप्रपा सांसदहरु उठे ।

राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राष्ट्रिय पार्टीका संसदीय दलका नेताले अर्थमन्त्री खोज्दा दोहोरी खेलेको हुन्छ भन्दै प्रतिवाद गर्दै भने, ‘संसद कसैको पेवा होइन, जनताबाट निर्वाचित भएको एक जना सांसदको त्यति नै महत्व हुन्छ ।’

त्यतिबेला सभामुखको आसनमा सभामुख देवराज घिमिरे फर्किसकेका थिए । उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई आफ्नो सिटमा फर्किन आग्रह गर्दै संसद बैठक १५ मिनेटका लागि स्थगित गरे ।