काठमाण्डु – राप्रपाको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा अध्यक्षका दावेदार कमल थापा र राजेन्द्र राजेन्द्र लिङ्देनले आफ्नो प्यानलमा लड्ने पदाधिकारीको टुंगो लगाएका छन् ।
अध्यक्षका दाबेदार थापा र लिङ्देनले पार्टीका चार उपाध्यक्ष र महामन्त्री पदमा लड्ने उम्मेदवारहरु तय गरेका हुन् । राप्रपामा एक महिलासहित चार उपाध्यक्ष प्रतिनिधिको भोटबाट निर्वाचित हुने व्यवस्था छ ।
शुक्रबार हुने मतदानका लागि लिङ्देन प्यानलबाट उपाध्यक्षमा बिक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठको नाम टुंगो लागेको छ भने महामन्त्रीमा डा.धवल शम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापाको नाम टुंगो लागेको छ ।
राप्रपा नेता भुवन पाठकका अनुसार थापा प्यानलबाट बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधानको नाम उपाध्यक्षको उम्मेदवारको रुपमा टुंगो लागेको लागेको छ । यस्तै महिला उपाध्यक्षमा रोशन कार्की उम्मेदवार रहेकी छन् ।
यसैगरी महामन्त्रीमा भुवन पाठक, भास्कर भद्रा र कुन्ती शाहीको नाम टुंगो लागेको छ । विक्रम पाण्डेको नाम भने दुबै पक्षले प्यानलमा राखिएको छ । यस विषयमा राप्रपाका नेता पाठकले आफूहरुले टुंगो लगाएको सूची यही भएको र अर्को प्यानलमा राखे नराखेको बारे थाहा नभएको बताए ।
राप्रपामा १९९ केन्द्रीय सदस्यमध्ये १४९ जनाको चुनाव हुने छ । हिजो बुधबारबाट सुरु भएको राप्रपा महाधिवेशन अन्तरगत आजबाट बन्दसत्र चलिरहेको छ भने भोली निर्वाचन हुने कार्यक्रम छ ।
प्रतिक्रिया