लगानीको वातावरण सिर्जना गर्ने मुख्य चुनौती कायमै छ : चेम्बर अध्यक्ष मल्ल

लगानीको वातावरण सिर्जना गर्ने मुख्य चुनौती कायमै छ : चेम्बर अध्यक्ष मल्ल


काठमाण्डु – नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा लगानीको वातावरण सिर्जना हुन नसक्नु अर्थतन्त्रका लागि मुख्य चुनौती भएको बताएका छन्।

लगानी योग्य रकम अधिक तरलता हुँदा समेत लगानी हुन नसक्नु र व्यापार व्यवसाय फस्टाउन नसक्नु आर्थिक समृद्धिका लागि बाधक रहेको अध्यक्ष मल्लले बताए ।

राष्ट्रिय व्यापार संघकोसाधारणसभालाई सम्वोधन गर्दै अध्यक्ष मल्लले भने,‘बैंक वित्तीय संस्थामा झण्डै ५ खर्व रुपैयाँ लगानी योग्य रकम थुप्रिएर बसेको छ, सरकारले पुजिगत खर्च गर्न सकेको छैन । अधिक तरलता भएर पनि लगानीको वातावरण बन्न सकेको छैन,।

सरकारको पुँजिगत खर्च अपेक्षा अनुसारको हुन सकेको भए अर्थतन्त्र चलायमान हुने अध्यक्ष मल्लले बताए । बैंक वित्तीय संस्थामा उच्च व्याजदरकै कारण लगानी आर्कषित हुन नसकेको अध्यक्ष मल्लको भनाई छ ।

अर्थतन्त्रको बाह्य सूचकमा सुधारका केही संकेत देखिएपनि आन्तरिक तर्फ सुधार हुन नसकेको भन्दै उनले पुजि चलायमान बनाउने गरी आर्थिक र वित्तीय नीति पुनरावलोकन हुनुपर्नेमा जोड दिए ।

पुँजिगत खर्च समयमै हुनेगरी समयवद्ध तालिका निर्धारण गर्नुपर्ने अध्यक्ष मल्लले बताए । उनले भने,‘चालु आर्थिक वर्षको ७ महिना पुरा भईसक्दा समेत विकास खर्च २१ प्रतिशतमा सिमित छ ।शुरुमा महत्वकांक्षी बजेट ल्याउने खर्च गर्न नसकेपछि संशोधन गर्ने परिपाटीलाई अन्त्य गरिनुपर्दछ, ।

साना तथा मध्यमखाले उद्योग व्यवसायमा ऋण विस्तार गर्नेगरी राष्ट्र बैंकले वित्तीय नीति ल्याउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए।‘आन्तरिक उत्पादन हुन नसक्दा व्यापार घाटा ‘चालु आर्थिक वर्षमा ६ खर्व ९३ अर्व रुपैयाँ पुगिसकेको छ,अध्यक्ष मल्लले भने,मुलुकको विद्यमान व्यापार घाटालाई कम गर्नका लागि कृषि,ऊर्जा,पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानी विस्तार हुने गरी वित्तीय नीति अवलम्वन गर्न आवश्यक छ,।  उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्न सकिए बेरोजगारी दरलाई केही हदसम्म नियन्त्रण गर्न सकिने अध्यक्ष मल्लले बताए ।