नेपाली सिनेमाका अमिताभ बच्चन राजेश हमाल : आजतक

नेपाली सिनेमाका अमिताभ बच्चन राजेश हमाल : आजतक


एजेन्सी – भारतीय सञ्चार माध्यम आजतकले नेपालका महानायक राजेश हमालको खुलेरै प्रसंशा गरेको छ ।

सोमबार राजेश हमालको प्रसंशा गर्र्दै आजतकले हमाललाई नेपाली सिनेमाका ‘अमिताभ बच्चन’को संज्ञा दिएको छ ।

आजतकले लेखेको छ, ‘५५ वर्षको उमेरमा राजेशको चर्चा नेपालमा त्यस्तै छ जस्तो भारतमा अमिताभ र शाहरुखजस्ता सेलिब्रिटीको छ ।’

उक्त समाचारमा राजेशले अभिनयमा आउनका लागि परिवारको निकै विरोध सहनु परेको पनि बताइएको छ । यसमा उनीद्वारा अभिनित फिल्मबारे पनि जानकारी दिइएको छ । साथै, यसमा राजेशले पिताको अन्तिम संस्कारमा कपाल नकाट्नुलाई उनको कपाल प्रतिको मोहको संज्ञा दिएको छ ।

उनी ‘को बन्छ करोडपती’ का उद्घोषक हुन् भनेर पनि त्यसमा जानकारी दिइएको छ । यसमा राजेशकी श्रीमतीबारे पनि जानकारी दिइँदै भनिएको छ, ‘राजेशले आफूभन्दा २२ वर्ष कान्छी मधु भट्टराइसँग विवाह गरेका छन् ।’ यी दुईको लभस्टोरीलाई निकै रोचक पनि बताएको छ ।