चितवनमा प्रचण्डसँग चुनाव लड्न बादल तयार, प्रचण्ड एक्लिने दाबी

चितवनमा प्रचण्डसँग चुनाव लड्न बादल तयार, प्रचण्ड एक्लिने दाबी


काठमाण्डु – नेकपा एमालेका नेता रामबहादुर थापा बादलले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् ।

चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै बादलले आगामी दिनमा पार्टीले निर्णय गरेमा प्रचण्ड भर्सेस बादल हुन सक्ने बताए ।

१० वर्ष सँगै जनयुद्ध लडेका उनीहरु दुवै जना चितवनका हुन् । माओवादीमा हुँदा प्रचण्डका विश्वास पात्र मानिएका बादलले सर्वोच्च अदालतले गत फागुन २३ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरेपछि केपी शर्मा ओली नेतृत्वको एमाले रोजेका थिए ।

साथै उनले एमाले पार्टीभित्र १० बुँदे कार्यान्वयन हुने अवस्था भए पनि आफू साविककै जिम्मेवारीमा रहने विश्वास व्यक्त गरे ।

उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई समाजवाद र राष्ट्रियताविरोधी भएको आरोप लगाउदै माओवादी कार्यकर्ताहरु आफूतिर आइरहेको दाबी गरे ।

बादलले भने, ‘माओवादीभित्रको अन्तरविरोध देखिराख्नु भएको छ । त्यो कुरा स्वयं प्रचण्डले नै व्यक्त गरिरहनु भएको छ । कतै म एक्लो हुने त होइन । सबै मन्त्री हुनलाई लुछाचुडी गरिराखेका छन् भन्ने अभिव्यक्ति सुनिरहनु भएको छ, त्यसको अर्थ सबै प्रचण्डको पछाडि लागेका छन् ।’

फरक प्रसंगमा उनले अमेरिकी सहयोग परियोजना एमसीसीलाई परिमार्जन गरेर स्वीकार गर्नुपर्ने बताए ।