कालिकोट – सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बन्दी रिहाईको माग गर्दै फोटो प्रदर्शन गरेको छ । नेकपाले सरकारलाई दबाव सृजना गर्न शुक्रबार प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको गाउँ नरहरीनाथ गाउँपालिका–६ माल्कोट सेरापाटामा जनसभासहित बन्दीहरुको फोटो प्रदर्शनी गरेको हो ।
उक्त समूहको केन्द्रीय कार्यक्रम अनुसार बन्दीहरुका फोटो प्रदर्शन गरिएको नेकपा कालिकोटका सेक्रेटरी मनीलाल ऐडी रणदीपले बताए। फोटो प्रदर्शनीमा पार्टी जिल्ला इन्चार्ज विराटले बिना कारण गिरफ्तार गरि झुट्टा मुद्धा लगाएर हिरासत तथा कारागारमा बन्दी बनाइएका आफ्नो पार्टीका सम्पूर्ण नेता कार्यकर्तालाई रिहा गर्न सरकारसँग माग गरे । उनले राष्ट्रघाती एमसीसी परियोजना संसदबाट जबरजस्त पास गराए कडा आन्दोलन गर्ने चेतावनी दिए ।
सरकारलाई दबाव सिर्जना गर्नका लागि स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली, पोलिटब्युरो सदस्य भरतबहादुर बम रणबीरसहित हिरासत तथा कारागार चलान भएका नेताहरुको फोटो प्रदर्शन गरिएको सेक्रेटरी रणदिपले बताए । गृहमन्त्री रामबहादुर थापा बादलले विप्लव समूहलाई निस्तेज पारेको बताएकै दिन विप्लव समूहले प्रर्दशन गरेको हो । गृहमन्त्री बादल विभिन्न कार्यक्रममा सहभागी हुन कर्णाली प्रदेश पुगेका थिए ।
प्रतिक्रिया