काठमाडौं – नेकपाका नेता तथा काठमाडौं क्षेत्र नं. ७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले राजीनाको घोषणा गरेका छन् । मानन्धरले राजीनामा दिने घोषणा गरेसँगै नेता वामदेव गौतमका लागि बाटो खुलेको छ ।
उक्त क्षेत्रबाट उपचुनावमा बर्दिया १ बाट पराजित नेता गौतमलाई उठाउने तयारी छ । पत्रकार सम्मेलन गरी प्रतिनिधिसभा सदस्य मानन्धरले पार्टी एकताका लागि महत्वपूर्ण भूमिका खेलेका वामदेव गौतम संसदमा हुनुपर्ने भन्दै आफूले सहज रुपमा देश विकास गर्न राजीनामा दिएको बताए ।
मानन्धरले पार्टीका नेता गौतमले आफ्नो क्षेत्रबाट निर्वाचन जित्ने दाबी गरेका छन् । सांसद मानन्धरले गौतमका लागि आफैले प्रस्ताव गरी ठाउँ छाड्न लागेको र गौतम निर्वाचित हुने दाबी गरेका हुन् । ‘वामदेव गौतमले पार्टी एकतामा पुर्याएको योगदानको सम्मान गर्दै मैले आफ्नो ठाउँ छाडेको हुँ, उहाँले जसरी पनि जित्नुहुन्छ’, सांसद मानन्धरले भने, ‘पार्टीका स्थानीय तह बलिया छन् । हामी जसरी पनि उनलाई जिताएर पठाउँछु ।’
मानन्धरले आफ्नो राजीनामा स्वीकृत गरियोस भनी सोमबार नै नेकपाका अध्यक्ष प्रचण्ड र नेता गौतमलाई बुझाइसकेको जानकारी दिए । उनले भने, ‘मैले हिजै नेताद्वयलाई भेटेर राजीनामा स्विकार गरियोस भनेर पत्र बुझाएको छु । भोलि बस्ने सचिवालय वैठकले मेरो प्रस्ताव स्विकार गरेमा सभामुखसमक्ष राजीनामा दिनेछु ।’
प्रतिक्रिया