राष्ट्रपति पौडेलद्वारा नवदुर्गा मन्दिरमा पूजाअर्चना

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा मन्दिरमा पूजाअर्चना


काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैंको अन्तिम दिन बुधबार कोजाग्रत पूर्णिमाका अवसरमा भक्तपुरस्थित नवदुर्गा मन्दिरमा नवदुर्गा भवानीको पूजाअर्चना गरेका छन् ।

श्रीमती सविता पौडेलसँगै मन्दिर पुगेर राष्ट्रपति पौडेलले नवदुर्गा मन्दिरका मूल नाइके सूर्यमान वनमाला, मूल पुजारी रमेश कर्माचार्य लगायत सहायक नाइकेहरूबाट नवदुर्गाको प्रसाद लिएका छन् ।

राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गरेका छन् ।

राष्ट्रपति पौडेलले नवदुर्गा भवानीको जमरा एवं टीका प्रसाद, फूलमाला, बिमिरा र पञ्चरङ्गी धागो प्रसादस्वरूप ग्रहण गरेका छन् । नवदुर्गाका २८ जना देवगण, पुजारी तथा तलेजुका मूल नाइकेलाई राष्ट्रपतिले दक्षिणा समेत दिएका छन् ।

राष्ट्रपतिलाई तलेजु मन्दिरका मूल नाइके नरेन्द्रप्रसाद जोशीले तलेजुको फूल, माला तथा प्रसाद प्रदान गरे । राजा हरिसिंह देव र रानी देवलदेवीले सिम्रणगढबाट ल्याएको मूल भक्तपुर तलेजुको प्रसाद र एकान्त कुमारीको प्रसाद राष्ट्रपति पौडेललाई प्रदान गरेको जोशीले जानकारी दिए ।

राष्ट्रपतिलाई प्रमुख जिल्ला अधिकारी (सीडीओ) रोशनीकुमारी श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी डोलेन्द्र निरौला, गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुख खिमा वली, राष्ट्रिय अनुसन्धान भक्तपुरका प्रमुख टेकराज तिमिल्सिना, नागरिक अभियन्ता, सुरक्षा निकायका प्रमुखहरू लगायतले स्वागत गरेका थिए ।