केपी ओली भेट्न बालकोट पुगे रामचन्द्र, सभामुखलाई हटाउनुपर्ने ओलीको सर्त

केपी ओली भेट्न बालकोट पुगे रामचन्द्र, सभामुखलाई हटाउनुपर्ने ओलीको सर्त


काठमाण्डु – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । उनी बुधबार साँझ ओलीनिवास बालकोट पुगेका हुन् । नेता पौडेलले बालकोट पुगेर एमाले अध्यक्षसमक्ष संसदको जारी अवरोध खुलाउन आग्रह गरेका थिए ।

उनले लामो समयसम्म संसद अवरुद्ध हुँदा राम्रो सन्देश नजाने भएकाले वार्ताबाट सहमति खोज्न ओलीलाई आग्रह गरेको बताए । जवाफमा अध्यक्ष ओलीले अप्राकृतिक गठबन्धन र एमालेले कारवाही गरेका व्यक्तिहरुलाई राखेर चलाइरहेको संसदको अवरोध कायमै राख्ने बताएका थिए ।

त्यस्तै ओलीले संसदको गतिरोध अन्त्य गर्ने हो भने सभामुख अग्नि सापकाेटालाई हटाउनुपर्ने सर्त राखेको स्रोतले जनाएको छ । नेता पौडेलले आफु सत्ता गठबन्धनको राजनीतिक संयन्त्रको संयोजकको हैसियतले बालकोट पुगेर ओलीसँग आग्रह गरेको बताए ।

पर्टीको १४ औं महाधिवेशन पछि नेता पौडेल प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासँग नजिकिएका छन् । महाधिवेशनमा सभापतिमा पराजित भएपछि शेखर कोइराला पक्षले संस्थापन इतरको भेला गरिरहेका बेला पौडेल देउवाको अघोषित दुत बनेर बालकोट पुगेका हुन् ।
हालै सम्पन्न पार्टीको १४ औं महाधिवेशनमा नेता पौडेलले तटस्थ बसेका थिए ।